सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायण पुगे अदालत, भन्छन् : सरकारले गलत गर्‍यो

  २०८१ असार १७ गते १७:२०     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारकाे निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले सेबाेन अध्यक्ष नियुक्तिकाे प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अध्यक्षकाे लागि सर्टलिष्टमा परेका श्रेष्ठले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै रिट दायर गरेको बताएका छन् ।

‘महान्यायाधिवक्ताको कार्यालयले पनि अहिलेकै प्रक्रियालाई अगाडि बढाउन सकिने राय दिएको छ, सरकारले त्यो विकल्प हुँदा हुँदै रद्द गर्‍यो, जुन गलत हो, म न्यायका लागि अदालत पुगेको हुँ, अन्तिम चरणमा आएर प्रक्रिया रद्द गर्न पाइँदैन, भर्खरै रिट दायर गरेर आएको छु,’ उनले विकासन्युजसँग भने ।

सरकारले नयाँ प्रक्रिया सुरु गर्‍यो भने तपाईंको सहभागिता रहन्छ वा हुँदैन भन्ने प्रश्नमा उनले त्यस विषयमा आफूले कुनै कुरा नसोचेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको अध्यक्ष सिफारिस समितिले सरकारकाे सल्लाहमा अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो ।

सर्टलिष्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्तामा उपस्थित भएपछि अध्यक्ष सिफारित समितिले प्रक्रिया रद्द गरेको हो । त्यसअघि अन्तवार्तामा २ जना मात्रै उपस्थित भएपछि सिफारिस समितिले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले धेरै अंक हुने एक जना थप गर्ने वा नयाँ प्रक्रियामा जान सकिने सुझाव दिएपछि प्रक्रिया नै रद्द गरिएकाे थियो ।

अध्यक्षका लागि श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा.नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईंको नाम सर्टलिष्टमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.