काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय पाउने, यस्तो छ सहमतिको खाका

  २०८१ असार १८ गते ७:५८     विकासन्युज

काठमाडौं । कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सोमबार १२ बजे सहमतिपत्रमा हस्ताक्षर भएको बुझिएको छ ।

दुई पार्टीबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री र  शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको हो ।

संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले  स्थीरताका लागि एमाले र काँग्रेसबीच सहमति गर्नु परेको बताए । ‘पछिल्लो समय देशको राजनीतिक अवस्था देखेर सबैमा चिन्ता छ, वर्षैपिच्छे सरकार परिवर्तन हुने अवस्था सिर्जना हुन थाल्यो, त्यसैले यो अवस्थामा ठूला दुई दल नमिल्नुको विकल्प भएन,’ उनले भने ।

उनले सहमतिमा संविधान संशोधन गर्ने विषय उल्लेख भएको भएपनि कुनकुन धारा संशोधन गर्ने भन्ने बारे उल्लेख नगरेको बताए । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो ।

सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।

यस्तै, समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने र उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी भएकाे छ ।

प्रतिनिधिसभा र राष्ट्रिय  सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सहमति भएकाे छ ।

संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । नयाँ सहमति अनुसार एमालेले अर्थसहित ९ मन्त्रालय र काँग्रेसले गृहसहित १० मन्त्रालय पाउने प्रारम्भिक खाका बनेको छ । यो संख्या घटबढ हुन सक्ने विषयमा दुवै दलको सहमति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.