सलमान खानलाई मार्न २५ लाखको सुपारी

  २०८१ असार १८ गते १२:५६     विकासन्युज

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्न २५ लाखकाे सुपारी दिइएकाे खुलेको छ ।

खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले लरेन्स समूहले उनलाई मार्न २५ लाखमा सम्झौता भएकाे खुलासा गरेको हो ।

यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए ।

यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।

साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो ।

आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुंगा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले दायर गरेको आरोपपत्रमा सलमानको हत्याका लागि १८ वर्ष मुनिका केटाहरूलाई काममा लिएको आरोप लगाएको छ । प्रहरीले सबै गोली हान्नेहरू गोल्डी बरार र अनमोल बिश्नोईको आदेशको पर्खाइमा रहेको पनि बताएको छ ।

आदेश पाएलगत्तै उनले पाकिस्तानबाट ल्याइएको आधुनिक हतियार प्रयोग गरेर सलमानमाथि हमला गर्ने तयारीमा थिए । यी सबै शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.