विष्णु पौडेलले चौथो पटक अर्थमन्त्री बन्ने सौभाग्य पाउलान्?

  २०८१ असार १८ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेस र नकेपा एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै दुई दलबीच मन्त्रालयको भागबण्डा पनि मिलेको छ । काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय पाउने लगभग निश्चित भइसकेको छ ।

पछिल्लो समय सबैको चिन्ता र चासो बढेको अर्थमन्त्रालय नेकपा एमालेले पाउने भएपछि एमालेभित्र पनि अर्थमन्त्री को बन्छ भन्ने चासो सबैमा छ । एमालेबाट यसअघि नै अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा हुन् । तर, डा. खतिवडा सांसद नभएकोले उनको अर्थमन्त्री बन्ने सम्भावना न्यून छ भने पाण्डे पनि अहिले अर्थमन्त्रीको लाइनमा छैनन् ।

धेरैले अबको अर्थमन्त्री विष्णु पौडेल हुन सक्ने अनुमान गरिरहेका छन् । त्यो अनुमान सेयर बजारका लगानीकर्ताले पनि गरेका छन् । उसोत विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा हुने वित्तिकै पनि सेयर बजारले उकालो यात्रा तय गर्छ । त्यस्ता उदाहरण विगतमा धेरै भएका छन् ।

अहिले पनि बजारमा अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा सुरु भएसँगै सेयर बजारले उकालो यात्रा तय गरेको छ । मंगलबार सेयर बजार सुरु भएको दुई मिनेटमै बढेर सकारात्मक सर्किट नै लाग्यो । तथापि, विस्तारै सम्हालिँदै यो समाचार तयार पार्दासम्म बजार ५० अंकले बढेको छ । उसो त वर्तमान पुष्प कमल दाहाल ‘प्रचण्ड’को सरकार अझैं केही दिन कायमै रहने परिस्थिति निर्माण भएको छ । उनले राजीनामा नदिएर संसदको सामना गर्ने रणनीति बुनेपछि वर्तमान सरकार केही टिक्ने अवस्था सिर्जना भएको हो ।

तर, वर्तमान सरकारप्रति दिक्दारीपूर्ण महसुस गरेका लगानीकर्ताले नयाँ गठबन्धन र नयाँ अर्थमन्त्री आउने संकेतमा सेयर बजारमा सेञ्चुरीको वृद्धि गराएर देखाए । ठूला दुई दल मिल्ने देखेर लगानीकर्ता पनि उत्साहित भएको देखिन्छ भने अर्थमन्त्री पौडेल आउन सक्ने आँकलन गर्दै स्वागत पनि गरेको बुझ्न सकिन्छ ।

नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकारको नेतृत्व सुरुमा केपी शर्मा ओलीले गर्ने सहमति भइसकेको छ । पौडेल ओलीका विश्वासिला पात्र हुन् । ओली प्रधानमन्त्री भएपछि विष्णु अर्थमन्त्री बन्न सक्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ ।

‘अहिलेसम्म पार्टीभित्र को अर्थमन्त्री बन्ने भन्नेसम्मको गृहकार्य भएको छैन, पार्टी नेतृत्व सरकारमा गएपछि काम गर्नका लागि पनि अनुभवी व्यक्तिलाई सँगै लिएर नै जानु पर्ने हुन्छ, अहिलेका लागि पौडेल अर्थमन्त्रीका लागि प्रमुख दावेदार हुन्,’ पौडेल निकट स्रोतले भन्यो ।

यदि पौडेल यस पटक अर्थमन्त्री बनेमा अर्थमन्त्रालयमा उनको चौथो पटक प्रवेश हुनेछ । सम्भवतः एमालेबाट चार पटक अर्थमन्त्री बन्ने पहिलो नेता बन्नेछन् उनी । नेपाली काँग्रेसबाट भने सबैभन्दा बढी अर्थमन्त्री बनेका डा. रामशरण महत हुन् । उनी सात पटक अर्थमन्त्री बनेका छन् ।

पौडेल यसअघि २०७२ साल असोजमा केपी ओली नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । यस्तै २०७७ मा डा. युवराज खतिवडाको अर्थमन्त्रीको रुपमा दुई वर्षको कार्यकाल सकिएपछि २०७७ असोजमा पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका थिए ।

त्यस्तै, २०७९ पुसमा प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री बनेका थिए । प्रचण्डसँग उनको त्यो दोस्रो सहयात्रा थियो । त्यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा पौडेल ऊर्जामन्त्री बनेका थिए ।

पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । हाल पौडेल नेकपा एमालेका उपाध्यक्षको जिम्मेवारीमा छन् ।

नयाँ आउने अर्थमन्त्रीलाई बाटो बिराएको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनु पर्ने चुनौती छ । पछिल्लो समय देशको अर्थतन्त्री सही दिशामा छैन । बैकले कर्जा प्रवाह गर्न सकेका छैनन् । युवाहरुको विदेश पलायन दिनप्रतिदिन बढ्दो छ भने उद्योगी व्यवसायीले व्यापार व्यवसाय नराम्रोसँग बिग्रेको बताइरहेका छन् । निर्माण व्यवसायीको समस्या लामो समयदेखि ज्यूँकात्यूँ छ । लघु वित्त र सहकारीको समस्या त्यस्तै छ । यी विविध समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने दबाब र चुनौती अब आउने अर्थमन्त्रीलाई देखिन्छ ।

अर्को महत्वपूर्ण विषय भनेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र पौडेलको ट्युनिङ मिल्ने जानकारहरु बताउँछन् । धेरैले अर्थमन्त्रालय नेतृत्व र गभर्नर अधिकारीको ट्युनिङ नमिल्दा पनि अर्थतन्त्रमा समस्या सिर्जना हुने गरेको टिप्पणी राख्ने गरेका छन् । त्यो समस्याको समाधान पौडेल आएपछि हुने देखिन्छ । गभर्नर अधिकारीको पनि अब कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा उनी पनि केही खुकुलो नीति बनाएर बाहिरिने मुडमा देखिन्छन् । उनको त्यो मुडले नयाँ आउने अर्थमन्त्रीलाई थोरै भएपनि पनि केही सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.