घरजग्गा कारोबारको हब बने धनगढी, पोखरा र विराटनगर

  २०८१ असार १८ गते १७:३३     विकासन्युज

काठमाडाैं । पछिल्लो समय काठमाडौं उपत्यका बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबारले तीव्रता पाउन थालेको छ । कोरोना महामारीपछि सुस्ताएको अर्थतन्त्रले सिथिल बनेको घरजग्गा कारोबार अहिले पुनः पुरानै लयमा फर्कने प्रयास गरिरहेको छ । पछिल्ला तथ्यांकहरूले काठमाडौं बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबार बढ्न थालेको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनमा विभिन्न प्रदेशका राजधानीमा घरजग्गा कारोबार देखिएको छ । पछिल्लो समय मुख्य गरेर सुदूरपश्चिमको कैलाली, गण्डकीको पोखरा र कोसी प्रदेशको विराटनगर घरजग्गा कारोबारको केन्द्र बनिरहेका छन् । तथ्यांक ती ठाउँमा घरजग्गा कारोबार बढेको देखिन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश आर्थिक गतिविधि अर्धवार्षिक प्रतिवेदनका अनुसार सुदूरपश्चिम प्रदेशमा समीक्षा अवधिमा समग्र घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा सो संख्या ३८.९५ प्रतिशतले घटेको थियो । यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ३.३५ प्रतिशतले वृद्धि भई ३१ करोड ३६ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९.४२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १४.७७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या २७.७३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ५२७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा घर/भवन नक्सा पास भएको छैन ।

समीक्षा अवधीमा कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशेन संख्या ६ हजार ९४० पुगेको छ । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १.९६ प्रतिशतले वृद्धि भई ५१९ पुगेको छ । गत अवधिमा त्यस्तो नक्सा पास संख्यामा २७.१८ प्रतिशतले कमी आएको थियो । त्यसैगरी, समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व गत अवधिको तुलनामा १०.३७ प्रतिशतले वृद्धि भई ११ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ ।

यस्तै, समीक्षा अवधिमा गण्डकी प्रदेशमा रहेका महानगर/नगरपालिकाहरूबाट स्वीकृत घर/जग्गा रजिष्ट्रेशन संख्यामा २६.३९ प्रतिशतले वृद्धि भई १५ हजार ५ सय ८५ रहेको छ भने नक्सा पास संख्यामा ३४.७२ प्रतिशतले कमी आई ६ सय ९२ रहेको छ । घर जग्गा रजिष्ट्रेशन वापतको राजस्व गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई ७८ करोड ७५ लाख रुपैयाँ सङ्कलन भएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी घरजग्गा कारोबार कास्की पोखरामा भएको छ ।

मधेश प्रदेशमा समीक्षा अवधिमा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ३.२० प्रतिशतले वृद्धि भई ४४ हजार ६ सय ५२ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्यामा ५१.७२ प्रतिशतले वृद्धि भएकोथियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन राजस्वमा ०.००४ प्रतिशतले घट्न गइ ९६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन भएकोछ ।

गत वर्षको सोही अवधिमा यस्तो रकम ९६ करोड २५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा घर/भवन स्थायी नक्शा पास संख्या १०.२७ प्रतिशतले घटेर १ हजार ८ सय ३४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या २ हजार ४४ रहेको थियो ।

जग्गामा अधिक लगानी तथा कृषि योग्य जग्गाको कित्ताकाट भई रहेकोले जग्गाको वर्गीकरणपश्चात्मात्रै कित्ताकाट गर्ने भनी कित्ताकाटमा रोक लगाएकोले घरजग्गा रजिष्ट्रेशन संख्या तथा घरजग्गा रजिष्ट्रेशन राजस्वमा कमी आएको प्रतिवदनमा उल्लेख छ ।

कोसीमा समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५५.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन वापतको राजस्वमा १६.१ प्रतिशतले वृद्धि भई १ अर्ब १९ करोड रुपैयाँ राजस्व परिचालन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ राजस्व परिचालन भएको थियो । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या ६.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । कोसीको राजधानी विराटनगर हो । विराटनगर पनि घरजग्गा कारोबारीको नजरमा परेको सहर हो ।

गत वर्ष सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागु गरेपश्चात् ठूला क्षेत्रफल भएका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लागेको बन्देज समीक्षा अवधिमा खुल्ला गरेका कारणले घरजग्गा कारोबारमा वृद्धि भई घरजग्गा रजिष्ट्रेसन संख्या र राजस्व रकम दुवै बढेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.