एक लाख तिरेर भाडाका चोर, बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट

  २०८१ असार १८ गते १८:३५     विकासन्युज

काठमाडौं । २०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए । सो पसलका व्यवस्थापक विश्वकर्मा र गौतम सुनका गर गहना बनाउन व्यस्त थिए ।

त्यतिबेलै पसल अगाडिको सडकमा एउटा मोटरसाइकल रोकियो । कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाईकल सडक छेउमै पार्किङ्ग भयाे । र, त्यो मोटरसाइकलमा सवार दुई जना छेउकै घरको माथिल्लो तलामा रहेको बिनोद सुनचाँदी पसलमा प्रवेश गरे ।

त्यो अज्ञात समूहको मुखमा मुखौरो । हातमा खुकुरी र चक्कु । विजय विश्वकर्मा र बापिधर गौतम डराए । अज्ञात दुई व्यक्तिले धारिलो खुकरी र चक्कु घाँटीमा राख्दै पसलभित्र राखिएको पैसा र गरगहना दिन धम्की दिए ।

डर त्रासले विजय र बापिधरले प्रतिकार गरेनन् । उनीहरूले पसलमा रहेको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँबराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनको गरगहना लुटेर भागे ।

लगत्तै विजय र बापिधरले पसलका सञ्चालक बिनोद सुनारलाई खबर गरे । बिनाेद पनि केही समयपछि त्यहीँ पुगे । उनीहरू मिलेर जिल्ला प्रहरी कार्यालय चितवनलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्यो । चितवन प्रहरीले सोही दिनदेखि अनुसन्धान थाल्यो ।  प्रहरीले लामो अनुसन्धान गर्‍यो । चोरको खोजी गर्‍यो । तर, भेटाएन ।

त्यसपछि स्थानीय प्रहरीले  केन्द्रसँग सहयोग माग्यो । नेपाल प्रहरीको हेड क्वाटरले केन्द्रीय अनुसन्धान ब्यूराेलाई सहयाेगका लागि पत्र पठायो ।

सीआईबीले इन्स्पेक्टर शान्ता लामाको नेतृत्वमा टोली अनुसन्धानमा खटायो । सीआईबीले अनुसन्धान गर्दा त्यो पसल लुट्ने तिनै पसलका सञ्चालक बिनोद सुनार नै रहेको खुलासा भयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सञ्चालक सुनारले यो सबै योजनाबद्ध रुपमा गरेका रहेछन् ।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनले पसलको बीमा गरेका रहेछन्, सो बीमा असुल्नका लागि सो योजना बुनेको  अनुसन्धानबाट खुलेको बोगटी बताउँछन् ।

‘बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएकोमा उक्त कार्यमा संलग्न पाँच जना ब्यक्तिहरू पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-२०, चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भनेको छ ।

प्रवक्ता बोगटीले पसल सञ्चालक सुनारले नै दुई जना (पूर्ण बहादुुर र पवन कुमार)लाई ५०/५० हजार रुपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुलेको बताए । बोगटीका अनुसार पसल घाटामा गएपछि बीमा गरेको रकम असुल्नका लागि यो योजना गरेका थिए । उनले पसलबाट झण्डै तीन केजी सुन र ३५ केजी चाँदी लुटपाट गराएको अनुसन्धानबाट खुलेकाे जानकारी दिए ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा बिनोद सुन चाँदी पसलका सञ्चालक बिनोद सुनार (योजनाकार), सो पसलका मेनेजर विजय विश्वकर्मा, पूर्ण बहादुर बिश्वकर्मा, पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने अन्जना पुडासैनी रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरु दमौली र नवलपरासी लगायतका ठाउँहरुबाट पक्राउ परेको बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.