डेंगु संक्रमणको जोखिम रोक्न बाँकेमा उच्च सतर्कता

  २०८१ असार १८ गते १९:०६     विकासन्युज

नेपालगन्ज ।भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेंगु संक्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।

बाँकेका डेंगु रोग सम्पर्क व्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ४ सय ५ जना डेंगुका संक्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताए ।

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा ५, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा ९, खजुरा गाउँपालिकामा ४, जानकी गाउँपालिकामा ५, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा ५ जना डेंगुका बिरामी छन् ।

‘बिरामीको संख्या बढ्दै गएको र अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएकाले डेंगुको संक्रमण बढदो देखिएको छ,’ गौतमले भने ।

जिल्लामा डेंगु संक्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेंगु रोग सम्पर्कव्यक्ति गौतमले बताए ।

उनले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताए । उनले डेंगुको संक्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो ६ महिनायता मात्रै नेपालगञ्जमा १ हजार २ सय ६८ जना डेंगु रोगबाट संक्रमित भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिएका छन् ।

डेंगुको विषाणुद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.