काठमाडौंमा अर्को ठूलो सहकारी ठगी, अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ

  २०८१ असार १८ गते १९:३६     विकासन्युज

काठमाडौं । काठमाडौंमा फेरि अर्को सहकारीमा ठगी भएको छ । सहकारीका सञ्चालकले बचतकर्ताको बचत रकम अपचलन गरेर ठगी गरेका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. २० मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको हो ।

सो सहकारीका सञ्चालकले सर्वसाधारणलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्ताहरुलाई हानी पु¥याई बचत कर्ताहरूको निक्षेप अपचलन गरी हाल सम्म ७ करोड १३ लाख ८६हजार ठगी गरेको बुझिएको छ ।

बचतकर्ताले २०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मिति देखि सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा यस कार्यालयबाट खटिएको टोलीले २०८१ असार १७ गते बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उक्त सहकारीका अध्यक्ष समेत ३ जना संचालकलाई पक्राउ गरेको काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा रहेका छन् ।

अध्यक्ष महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेको र २०७० सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, आफुले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकम आफुखुसी लगानी गर्दै आएको बुझिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनी २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको बुझिएको छ ।

यस्तै, संस्थाका उपाध्यक्ष मलिका महर्जन २०७६ सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेको देखिएको छ भने अर्पण कवा २०७६ सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको सचिव पदमा कार्यरत रहेको बुझिएको छ । हाल उनी इवामुरा कलेज, भक्तपुरमा प्रशासन शाखामा कार्यरत रहेको भन्ने बुझिएको छ ।

सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कुल १२ सय बचतकर्ता र बचतकर्ताको ४५ करोड बचत रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.