एसईई पूरक परीक्षाबाट कलेजहरू उत्साहित, बिजनेस बढ्ने अपेक्षा

  २०८१ असार १९ गते १३:०६     विकासन्युज

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थी कम पास हुँदा माध्यमिक तहमा पढाइ हुने विद्यालय तनावमा परे । सरकारी विद्यालयलाई तनाव नभए पनि निजीबाट चलाएका स्कुलका सञ्चालकलाई छटपटी नै भयो ।

ब्याचलर्स तहमा विद्यार्थी नपाउँदा छटपटाइरहेका निजी कलेजलाई एसईईको नतिजाले ठूलै झट्का लाग्यो । प्लसटु तहमा विद्यार्थी पाइरहेका निजी कलेजलाई विद्यार्थी कसरी पुर्‍याउने पीर परेको छ ।

नियमअनुसार कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि ३६ जना विद्यार्थी अनिवार्य हुनुपर्छ । यसमा पनि विद्यार्थीको रुचि कुन कलेजमा पर्छ त्यसमा भर पर्छ । विद्यार्थीलाई आफ्नो कलेजमा तान्न अहिले निजी कलेजले व्यपक प्रचार/प्रसार समेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा सूचनाहरू छ्याप्छ्याप्ती देख्न सकिन्छ ।

राष्ट्रिय परिक्षा बोर्डले २०८० सालमा लिएको एसईई परीक्षा नतिजा प्रकाशन गर्दा आधाभन्दा कम विद्यार्थीमात्र कक्षा ११ पढ्न योग्य भएका छन् । ११ कक्षा पढ्ने विद्यार्थीको संख्या घटेसँगै निजी कलेज विद्यार्थी तान्न दौडधुपमा लागेका छन् ।

२०८० सालमा लिइएको एसईई परिक्षा दिने विद्यार्थीको संख्या ४ लाख ६४ हजार ७ सय ८५ थियो । तीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८७ प्रतिशत विद्यार्थीमात्र पास भए ।

२ लाख ४२ हजार ३ सय १३ अर्थात (५२.१३) विद्यार्थी फेल भए । पास भएका २ लाख २२ हजार ४ सय ७२ विद्यार्थी नेपालमा रहेका ४ हजार ८ सय २० माध्यमिक विद्यालयलाई भाग लगाउने हो भने एक स्कुलको भागमा ४६ विद्यार्थी पर्छन् । पास भएका विद्यार्थी सबै कक्षा ११ मा भर्ना हुन्छन् भन्ने छैन ।

एसईईमा पास भएका धेरै विद्यार्थीको आकर्षण प्राविधिकतर्फ बढी छ । इन्जिनियरिङ, स्टार्फ नर्स, अनमी, एचए लगायतका कोर्सहरू अध्ययन गर्ने जमात ठूलो छ । विद्यार्थी प्राविधिक क्षेत्रमा जाँदा पनि कलेजलाई झन तनाव परेको हो ।

मन्त्रालयको नयाँ निर्णय

आधाभन्दा बढी अथवा ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल हुँदा अहिले नेपालको शिक्षा प्रणाली माथि नै प्रश्न उठ्न थालेको छ । सर्वत्र एसईईको नतिजाको तरंग फैलिरहेको बेला शिक्षामन्त्रालयले भने फेल भएका अथवा ननग्रेड ल्याएका विद्यार्थी सबैलाई फेरि परिक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले दुई विषय लागेका विद्यार्थीमात्र नभइ ७ वटै विषयमा फेल भएका र एसईईमा फारम भरेर पनि उपस्थित हुन नसकेका विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने भनेकी छन् । यसका लागि लेटर ग्रडिङ निर्देशिका परिवर्तन गर्ने तयारी पनि मन्त्रालयले गरेको छ।

सो निर्देशिकामा यसअघि दुई विषयमा एनजी अथवा फेल हुने विद्यार्थीलाई मात्र नतिजा सार्वजनिक भएलगत्तै परीक्षा दिन पाउने व्यवस्था थियो।

सोही व्यवस्थाअनुसार राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा फेल भएका विद्यार्थीलाई मात्र परीक्षा दिन पाउने गरी साउन १८र १९ गते मौका परीक्षा लिने भनेको थियाे । फेरि त्यसकाे मिति परिवर्तन गरेर साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा हुने भनेर परीक्षा पूरक तालिका सार्वजनिक गरेकाे छ । जसमा सबै विद्यार्थीलाई सहभागी गराउने शिक्षा मन्त्रालयकाे निर्णय छ ।

अब यसलाई हटाएर दुईभन्दा बढी विषय लागेका विद्यार्थीहरूले पनि परीक्षा दिन पाउनुपर्ने गरी ग्रेडिङ निर्देशिका संसोधन गर्न लागिएको हो ।

निजी कलेजलाई राहात महसुस

शिक्षा मन्त्रालयको यो निर्णयलाई धेरैले स्वागत योग्य निर्णय पनि भनेका छन् । शिक्षाविद् डा. विष्णु कार्की शिक्षामन्त्रीले फेल भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने कदम सकरात्मक भएको बताउँछन् ।

उनी कुनै पनि विद्यार्थीलाई फेल गराएर विद्यार्थीको मूल्यांकन गर्ने अधिकार कसैलाई नभएको भन्दै अब पास फेल बनाउने प्रणाली नै हटाउनुपर्ने बताउँछन् ।

‘अहिले जति विद्यार्थी फेल भएका छन् यसमा कसैको दोष छैन,’ उनी भन्छन्,‘यसमा दोष भनेको हाम्रो शैक्षिक प्रणालीकाे हो, अब यो पास फेल बनाउने नियम नै हामीले हटाउनुपर्छ ।’ उनी कुनै पनि विद्यार्थीको पढ्ने र बुझने शैली फरक हुने बताउँदै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताउँछन् ।

शिक्षा मन्त्रालयको यो निर्णयले फेल भएका विद्यार्थीलाई भने ठूलो राहात मिलेकाे छ । जति राहात विद्यार्थीलाई मिलेको छ त्योभन्दा ठूलो राहात निजी कलेज सञ्चालकलाई मिलेको छ । विद्यार्थी नपाएर तनावमा परेका कलेज फेरि परीक्षा हुँदा विद्यार्थी पाउने आशामा छन् ।

इम्पेरियल कलेजका प्रधानाध्यापक प्रताप शाक्य मन्त्रालयको निर्णयले निजी कलेजलाई राहत मिलेको बताउँछन् । उनी कलेजलाई सेवामुलकभन्दा व्यावसायिकरूपमा लिइरहेकाहरू एसईईको नतिजाले छटपटाइरहेका बेला मन्त्रालयको निर्णयले थोरै भए पनि राहात महसुस गरिरहेको उनले बताए ।

खुलस्तरूपमा भन्न नसके पनि यो नतिजाले निजी कलेजलाई झट्का लागेको थियो । अबको परीक्षामा विद्यार्थीले मिहिनेत गरे विद्यार्थी खोज्न नपर्ने बताउँछन् ।

अपरिपक्क निर्णय

शिक्षा मन्त्रालयले गरेको निर्णयमा विज्ञहरूकै मत विभाजित भएको छ । कतिपयले स्वागत योग्य निर्णय भने पनि कतिपयले भने यो निर्णयले झन समस्या बल्झाउने बताएका छन् ।

शिक्षाविद् विद्यानाथ कोइराला दुई विषयभन्दा बढी लागेका विद्यार्थी र अनुपस्थित विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने गरी गरिएकाे निर्णय तत्कालका लागि राम्रो भए पनि पछिका लागि राम्रो नहुने बताउँछन् ।

उनी यसले समस्या समाधान नगर्ने बताउँछन् । एसईई पास भएका विद्यार्थीहरू अहिले धमाधम कक्षा ११ मा भर्ना हुँदैछन् । अब साउनदेखि आर्थिक वर्षसँग उनीहरूको पढाइ सुरु हुन्छ ।

कोइराला सबै जिल्लामा फेरि परीक्षा सञ्चालन गर्दा नतिजा सार्वजनिक गर्न पनि समय लाग्ने भएकाले पढाइमा समेत बाधा पर्ने बताउँछन् । फेल भइसकेका विद्यार्थीहरूलाई पास गराउने गरी परिक्षा लिनु गलत हुने कतिपयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.