बुबासँगै व्यवसायमा जम्दै अक्षय, डेढ दर्जन कम्पनीका मालिक

  २०८१ असार १९ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपालमा ६ दशकदेखि उद्योग व्यवसायमा संलग्न गोल्यान समूह एक ठूलो व्यावसायिक घरानाको रूपमा स्थापित भइसकेको छ । सोहनलाल गोल्यानले हालेको व्यावसायिक जग पवन गोल्यान हुँदै अहिले अक्षय गोल्यानसम्म आइपुगेको छ । टेक्सटायल (कपडा उद्योग) बाट सुरु भएको गोल्यान समूहको व्यवसाय अहिले कृषि, बैंक तथा वित्तीय क्षेत्र, पर्यटन र जलविद्युतसम्म विस्तार भइसकेको छ ।

यो व्यावसायिक समूहको नेतृत्व अहिले पवनले गरे पनि उनलाई साथ उनका छोरा अक्षयले दिइरहेका छन् । तिनै अक्षयले अहिले तेस्रो पुस्ताको नेतृत्व गरिरहेका छन् । बाजे र बुबाको बिडो समात्दै उनी व्यवसायमा जमिरहेका छन् । विदेशमा उच्च शिक्षा हासिल गरे पनि स्वदेशमै केही गर्नुपर्छ भनेर लागेका अक्षय अहिले रिलायन्स स्पिनिङ मिल्सको प्रबन्ध सञ्चालक भएर काम गरिरहेका छन् ।

विगतमा पवनले हेर्ने काम अहिले अक्षयले हेरिरहेका छन् । ‘अहिले मैले सबै काम हेर्न भ्याउँदिन, अक्षयले नै हेर्ने गरेको छ, उसलाई मेरो सहयोग चाहिएको छ भने म गर्छु,’ पवन भन्छन्, ‘नभए सम्पूर्ण व्यवसाय उसैले हेर्ने गरेको छ ।’

३६ वर्षीय अक्षयले अहिले गोल्यान ग्रुपको विभिन्न व्यवसाय त सम्हालिरहेकै छन् उनले अन्य धेरै कम्पनीमा पनि लगानी गरेका छन् । उनले प्रबन्ध सञ्चालकका रूपमा नेतृत्व गरिरहेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारण सेयर (आईपीओ) जारी गर्दैछ । सोही कम्पनीको सूचीपत्रमा उनले लगानी गरेको कम्पनीको विवरण पनि उल्लेख छ ।

अक्षयले विभिन्न १६ वटा कम्पनीहरूमा लगानी गरेका छन् । उनकाे सेयर बजारमा सूचीकृत भएका र नभएका गरी कुल १६ वटा कम्पनीहरूमा ४६ लाख ६६ हजार २३४ कित्ता सेयर रहेको छ । त्यो भनेको अंकित मूल्यमा कुल ४६ करोड ६६ लाख २३ हजार ४ सय रुपैयाँ लगानी हो । उनको ५ वटा वाणिज्य बैंकहरू ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, एनआईसी एसिया र नेपाल पूर्बाधार बैंकमा लगानी छ ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीमा पनि उनको लगानी देखिएको छ । कृषि कम्पनीहरु चिरायु एग्रो, गोल्यान एग्रो र सम्राट एग्रोमा पनि उनको संस्थापक लगानी छ ।

उनले ६ वटा जलविद्युत कम्पनीमा पनि लगानी गरेका छन् । उनको चिलिमे हाइड्रोपावरसँगै पियोर इनर्जी प्रालि, पोजिटिभ इनर्जी प्रालि (संस्थापक), पायोनियर इनर्जी प्रालि (संस्थापक), प्रोग्रेसिभ इनर्जी प्रालि (संस्थापक) र मिजु इनर्जी प्रालि (संस्थापक) मा लगानी गरेका छन् ।

उनी प्रबन्धक सञ्चालक रहेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्दैछ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्नेछ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले उद्योगबाट उत्पादित धागोको ७० देखि ७५ प्रतिशत सम्म विदेशमा निर्यात गर्दे आएको दाबी गरेको छ । यस उद्योगले उत्पादन गरेको वस्तुमध्ये करीब २५ देखि ३० प्रतिशत हिस्सा मात्र राष्ट्रिय अर्थात स्थानीय बजारमा खपत हुन्छ ।

कुन कम्पनीमा कति लगानी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.