एमाले मन्त्रीहरुको राजीनामा बुझ्दै जब प्रचण्डले गीत गाए…

  २०८१ असार १९ गते २०:५४     विकासन्युज

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार राति बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती प्रचण्डको नेतृत्वको सरकारमा थिए ।

उनीहरु सबैले राजीनामा बुझाएका हुन् । बुधबार नेकपा एमालेले पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले आफूले यस विषयमा धेरै टिप्पणी नगर्ने बताए ।

एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.