उद्योग संगठन मोरङले सुरु गर्‍यो आफ्नै गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

  २०८१ असार २० गते १३:२६     विकासन्युज

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरूलाई आधार बनाई स्थानीय उद्योग व्यवसाय सुहाउदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली प्रारम्भ गरेको छ ।

गत साता सम्पन्न उद्योग संगठन मोरङको ५१औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा कोशी प्रदेशका मूख्यमन्त्री हिकमत कार्कीले क्यूसेफको लोगो अनावरण गर्दै सुभारम्भ गरेका हुन ।

क्यूसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणका रूपमा स्थापित गर्न तथा प्राविधिकरूपमा यसलाई कार्यान्वयनमा ल्याउन संगठनले राष्ट्रिय प्रमाणीकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ ।

सोही असवरमा संगठनका अध्यक्ष राकेश सुराना र नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जर्नादन घिमिरेले उक्त प्रणाली कार्यान्वयनमा ल्याउन एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

गुणस्तर मापदण्डका असल अभ्यासलाई प्रवर्द्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्ने र सोही अनुरूप पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्ले संगठनले क्यूसेफ गुणस्तर मापदण्ड प्रणालीको सुरुवात गरेको अध्यक्ष सुरानाले बताएका छन । उनले क्यूसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणीकरण प्रणालीको मानक भएको स्पष्ट पारे ।

संगठनको असल उत्पादनका अभ्यास प्रवर्रद्धन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षासम्बन्धी स्थापित मान्यताहरूका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरूले अडिट गरेपश्चात प्रमाणीकरण गरी प्रमाण पत्र प्रदान गर्ने बताए ।

नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष घिमिरेले क्यूसेफ मापदण्ड आई.एस.ओ ९००१, १४००१, ४५००१, २२००० र ह्यास्याप. लगायतका ४ वटा छुट्टा छुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भएको बताउदै क्यूसेफ प्रमाणिकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त ४ वटा अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिई प्राप्त गर्न सक्ने जनाएका छन ।

क्युसेफ मापदण्ड प्रमाणली साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानहरुले प्रयोग गर्न सक्ने र यस प्रणालीले उत्पादन प्रक्रिया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठामा अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले निर्धारण गरेका मापदण्ड, अनुपालना लगायतका विषयमा जानकारी प्रदान गरी सोही अनुरूपको मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उद्योगहरूलाई विश्वव्यापी भ्यालुचेनमा प्रतिस्पर्धी बनाउन मद्दत पुर्याउने संगठनले जनाएको छ ।

साथै, नेपाल सरकारले निर्धारण गरेका अनुपालनाहरू, उद्योग व्यवसायको प्रकृति अनुसारका कानुनी प्रावधानबारे सुसूचित गरी जरिवाना, जोखिमहरूबाट बचाउनुका साथै राज्यले निर्धारण गरेका कानुनहरूको परिपालन गरी बजारमा प्रतिस्पर्धी, उपभोक्ताको विश्वास जित्नसक्ने, समाजिक प्रतिष्ठा अभिवृद्धिका साथै व्यवसाय सञ्चालनमा सहजता ल्याउने जनाइएको छ ।

सशुल्क व्यावसायिक विकासको सेवाका रूपमा संगठनले प्रारम्भ गरेको व्यवस्थापन मापदण्ड प्रणाली नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन लागिएको पहिलो मापदण्ड हो । संगठन सचिवालयमा सम्पर्क राखेर यो सेवा प्राप्त गर्न सकिने संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.