अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न ४ करोड ३४ लाख बजेट

  २०८१ असार २० गते १६:१५     विकासन्युज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न ४ करोड ३४ लाख विनियोजन गरिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए । उनले ती प्रशिक्षणको तयारी गर्न ४ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन २ करोड ९० लाख विनियोजन गरिएको उल्लेख गरे । बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले संसदमा जानकारी दिए ।

मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षित गर्न तथा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे ।

दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताए । उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न ४ करोड ३५ लाख रुपयाँ बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउनेबित्तिकै खेलाडीको बैंक खातामा पुरस्कारबापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले आगामी वर्ष खेलकुद पूर्वाधार गर्न मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फल्ड लाइट’ जडान, खेलाडी ‘फिटनेस’ हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्युट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार मन्त्रालयले रङ्गशालाको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.