काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

  २०८१ असार २० गते १८:३९     विकासन्युज

काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ ।

कुल १हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गरे । उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गरे ।

साथै, उनले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए ।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.