७३ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै काठमाडौंमा

  २०८१ असार २१ गते ७:५८     विकासन्युज

काठमाडौं । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिए ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको संक्रमण बढ्ने आकलन मन्त्रालयले गरेको छ ।

सबभन्दा बढी काठमाडौंमा १ सय ५९ जनामा डेंगी देखिएको छ । झापामा १ सय २० र चितवनमा ८३ जनामा देखिएको छ ।

पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको जोखिम बढेको उनले जानकारी दिए ।

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फूल पार्छ र फूलबाट लार्भा निस्किन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ । रोग शाखाका प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.