डेढ करोडको लागतमा चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

  २०८१ असार २१ गते ११:१५     विकासन्युज

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख रुपैयाँ लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए ।

सो भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजार दुई सय ५० रुपैयाँमा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा ६९ लाख ५६ हजार आठ सय ७६ रुपैयाँमा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।

पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए । भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको १० लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो ।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि गत वर्ष रघुगङ्गा –४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.