कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

  २०८१ असार २१ गते ११:३७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाए ।

उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको जानकारी दिए ।

‘भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ, आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ’, उनले भने ।

अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए । उनले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको बताए । पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताए । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.