पाँचतले बिल्डिङमा बाइक डुबे, घरभित्र पस्यो बागमती (तस्बिरसहित)

  २०८१ असार २२ गते १६:३७     विकासन्युज

काठमाडौं । काठमाडौंको यूनियन पार्क नजिकैको बस्ती ठूलो जोखिममा परेको छ । शुक्रबार रातिदेखिको अबिरल वर्षाका कारण बागमती नदिको बहाब बढ्दा काठमाडौंका अधिकांश बस्तीहरु जोखिममा परेका हुन् । यसले काठमाडौंको यूनिएन पार्क नजिकको बस्ती पनि ठूलो जोखिममा परेको छ ।

युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । युनिएन पार्क नजिकै हालै बनेको पाँच तारे घरको पार्किङमा बागमती नदिको पानी पसेको छ । सो पार्किङमा पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि डुबेका छन् ।

बागमती नदिको पानी सडक हुँदै घरको पार्किङमा पस्दा पार्किङमा राखिएका सवारीहरू डुबेको सुरक्षाकर्मीले बताएका छन् । अहिले स्थानीय र सुरक्षाकर्मीहरुले सो स्थानमा कडा निगरानी गरिरहेका छन् भने घरभित्र रहेका मानिसलाई सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरिरहेका छन् ।

यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह पनि गरेको छ ।

काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उपत्यकाको टेकु, गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.