२०८१ असार २४ गते १०:१२ विकासन्युज
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था,नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका परियोजनामा मात्रै कर्जा प्रवाह गर्दा नेपाली लगानीका आयोजनाले ऋण नपाएको गुनासो गरेका छन् । सोमबार ईप्पानले पत्रकारहरूका लागि उर्जा विकास विषयकमा प्रशिक्षण दिँदै उनले यस्तो गुनासो गरेका हुन् ।
उनले बैंकले विदेशीले लगानी गरेका परियोजनामा मात्रै प्राथमिकता दिँदा नेपाली प्रबर्द्धक समस्यामा परेको बताएका हुन् ।
‘नेपाल राष्ट्र बैंकले हाइड्रोपावरमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ, बैंकले विदेशी आयोजनामा सो सीमा लगानी गरेर नेपाली आयोजनामा लगानी नगर्ने अवस्था छ, यसले हामीलाई समस्या सिर्जना गरेको छ,’ उनले भने ।
उनले अब नेपाली लगानीकर्ताले ऋण नै नपाउने होकि भन्ने चुनौती थपिएको धारणा राखे । उनले विद्युत विधेयकको अस्पष्टताको कारण अब सरकारले आयोजना बनाउँछ, विदेशीले बनाउँछ वा निजी क्षेत्रले बनाउँछ भन्ने विषयको दुविधा देखिएको पनि बताएका छन् ।
अब नेपाली प्रबर्द्धकहरु हाइड्रोपावरमा अगाडि बढ्न सक्छौं कि सक्दैनौं भन्ने दुबिधा सिर्जना गरेको पनि बताए ।
उनले अहिले परियोजनाको प्रतिफलको पनि समस्या भएको बताए । ‘धेरैले आयोजनाको लागत कम भएका आयोजनाले पनि प्रतिफल दिन सकेका छैनन् भनिरहनु भएको छ, अहिले अधिकांश परियोजनाले प्रतिफल दिन सकेका छैनन्, ट्रान्समिसन र ब्याज लगायतका कारणले आयोजनाले प्रतिफल दिन नसकेका हुन्, जलविद्युतमा हरेक दु:ख छन्,’ उनले भने ।
यस्तै, उनले प्रदेश तथा स्थानीय तहले पैसा चाहियो भनेर दु:ख दिने गरेको गुनासो पनि गरे। सरकार एकातिर र निजी क्षेत्र अर्कैतर्फ दगुरिरहेको धारणा उनको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.