२०८१ असार २४ गते १८:०६ विकासन्युज
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको उल्लेख गरे । गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीको लागि सबैको समन्वय आवश्यक रहेको बताए । उनले दक्षिण एशियामा नेपालको पोलिसी रेट कम रहेको बताए । उनले अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिले पनि भूमिका रहने बताए ।
उनले राष्ट्र बैंकले २०४७ सालदेखि ब्याजदर निर्धारण गर्न बजारलाई छाडेको बताए । उनले बजारमा भएको तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्ने गरेको भन्दै त्यसलाई उद्योगी तथा व्यापारी र राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्र बैंक उत्पादनमूलक क्षेत्रमा गुणस्तर कर्जा प्रवाह गरी रोजगारी सिर्जना गर्ने खालका कर्जा बढाउने पक्षमा रहेको बताए ।
उनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने क्षेत्रहरू ऋणात्मक रहेको भन्दै अर्थतन्त्रमा रहेको एक खालको चुनौतीका बीच मौद्रिक नीति बनाउनुपर्ने अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा नै कसिलो मौद्रिक नीतिलाई लचिलो बनाएको बताए । उनले अहिले राष्ट्र बैंकलाई कर्जा रिकोभरीमा समस्या रहेको बताए । उनले बैंकहरूमा निष्क्रिय कर्जा बढेको भन्दै निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोभिडले पारेको प्रभाव भएको उल्लेख गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.