सहकारी सञ्चालकमाथि प्रहरीको विभेद : पक्राउ लगत्तै काँग्रेस निकटलाई सार्वजनिक, एमाले निकटलाई गुपचुप

  २०८१ असार २५ गते १२:४४     सन्तोष रोकाया

काठमाडौं । गत बुधबार परिचित सहकारीकर्मी तथा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो । ३० हजार बढी बचकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएका उनको हातमा हतकडी लागेपछि सहकारी अभियान नै तरंगित बन्यो । लामो समयदेखि सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा योगदान गरेका उप्रेतीको हिरासत बसाइँले धेरै अभियानकर्मी चिन्तित पनि बनेका छन् ।

केबी उप्रेती ।

राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत रहेका उनी नेकपा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई प्रहरीले सार्वजनिक गरेर सबै विषयवस्तु प्रष्ट पार्छ भन्ने अपेक्षा सञ्चार जगत, अभियानकर्मी र बचतकर्तामा पनि थियो । तर, प्रहरीले उनलाई सार्वजनिक गरेन । उनी अहिले प्रहरी हिरासतमै छन् ।

उप्रेतीभन्दा अगाडि प्रहरीले अर्का ठूला सहकारीकर्मी तथा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको थियो । सो सहकारी संस्थाका सीईओ भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीसहित सो सहकारीका अन्य सञ्चालकविरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको थियो । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएपछि भण्डारी लगायतका सञ्चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यलले जानकारी दिए ।

सीईओ सुरेन्द्र भण्डारीसहित अन्य सञ्चालक ।

सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त संस्थाको रुपमा घोषणा पनि गरेको छ । जसको व्यवस्थापकीय नेतृत्व सुरेन्द्र भण्डारीले गरिरहेका छन् । अध्यक्षका रूपमा अमरदास श्रेष्ठलाई अगाडि सारेपनि सहकारीमा सुरेन्द्रकै हालिमुहाली थियो । अहिले अध्यक्ष अमरदास पनि पक्राउ परेका छन् ।

प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेर असार १६ गते आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार थिए । लालिगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि परेको छ ।

यस्तै, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा असार २ गते पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सोही दिन सार्वजनिक गर्‍यो ।

तेजविक्रम थापासहित अन्य सञ्चालक ।

पक्राउ पर्नेमा अध्यक्ष थापासहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा थिए । राजकर्णिकार थापाकी श्रीमती हुन् । सहकारीका सञ्चालकले बचकर्ताको बचत अपचलन गरेको भन्दै पक्राउ गरिएको प्रहरीको भनाइ थियो ।

सरकारले यो सहकारीलाई २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् । थापा पनि नेपाली काँग्रेस निकट नै मानिन्छन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख छ ।

सीबी लामा ।

यस्तै, गत जेठ १८ गते सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा सहकारी सञ्चालक चन्द्रबहादुर (सीबी) लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । उनलाई पनि प्रहरीले सार्वजनिक नै गरेको थियो ।

उनी अहिले कारागारमा छन् । उनीमाथि ८ अर्ब रुपैयाँ बचत अपचनको आरोप छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो । लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् । उनी काँग्रेसबाट यसअघि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका थिए ।

सहकारीका बचतकर्ताको ठूलो रकम अपचलन गर्ने मध्येका अर्का सहकारीकर्मी हुन् केदारनाथ शर्मा । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० असारमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको रकम ठगेको आरोपमा उनी श्रीमतीसहित जेलमा छन् । उनले पनि शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारीका करिब ३८ हजार बचतकर्ताको ११ अर्ब रुपैयाँ बढी ठगेको आरोप छ । उनको दुइटै सहकारीमा समस्या आएको लामो समय भयो ।

केदारनाथ शर्मा ।

प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । उनी भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बुझिएको थियो । राजनीतिक रूपमा ठूलो पहुँच भएका उनले पनि राजनीतिक पहुँचकै आधारमा बचतकर्ताको बचत दुरूपयोग गरेको बुझिन्छ ।

शर्मा शिवशिखर सहकारीको पूर्वअध्यक्ष हुन् । पूर्वअध्यक्ष भए पनि सहकारीको साँचो भने उनको हातमा थियो । उनले सहकारीकै रकमलाई चार दर्जन बढी कम्पनीमा लगानी गरेका थिए । उनी पनि नेपाली काँग्रेस निकट मानिन्छन् । उनी पनि अहिले श्रीमती गिता शर्मासँगै जेलमा छन् ।

रबिन्द्र चौलागाईं ।

यस्तै, काँग्रेस निकट नै मानिने अर्का सहकारीकर्मी रबिन्द्र चौलागाईंलाई पनि प्रहरलिे गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको बचत अपचलनको आरोप लागेका चौलागाईंलाई सीआईबीले गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक गरेको थियो । उद्यपि, उनलाई पत्रकार सम्मेलन भन्दा पनि प्रेस विज्ञप्ति जारी गरेर सीआईबीले सार्वजनिक गरेको थियो । अहिले पनि उनी कारागारमै छन् ।

इच्छाराज तामाङ ।

यस्तै, सहकारीको बचतकर्ताको बचत अपचलन गरेर जेल चलान भएका सहकारीकर्मी हुन् इच्छाराज तामाङ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा उनलाई सीआईबीले २०७८ असोजमा पक्राउ गरेको थियो । नेकपा एमालेका नेता समेत रहेका उनी समानुपातिक सांसद भएर पनि काम गरिसकेका थिए । तर, उनलाई प्रहरीले सार्वजनिक नै गरेन । अहिले उनीसहित उनकी श्रीमती सिर्जना शाक्य पनि जेलमै छन् । उनीहरुमाथि ५ अर्ब बढी बचत अपचलनको आरोप छ । सीआईबीले आफूले पक्राउ गरेकालाई विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए पनि उनलाई भने सार्वजनिक नै गरेन ।

सुधिर बस्नेत ।

यस्तै, सुरुमा सबैभन्दा ठूलो सहकारी ठगीको आरोप लागेका व्यक्ति हुन् शुधिर बस्नेत । उनलाई पनि प्रहरीले ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ताको बचत अपचलन गरेको भन्दै २०७३ मा पक्राउ गरेको थियो । सुरुमा बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरको आरोप लागे पनि पछि सावाँ ब्याजसहित १६ अर्ब ठगेको आरोप उनीमाथि छ । अहिले पनि उनले बचतकर्ताको सवा ३ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । सरकारले सो सहकारीलाई २०७९ मा समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो । संसदीय छानबिन समितिको टीओआरमा पनि यो सहकारी परेको छ । बस्नेत पनि काँग्रेस निकट मान्निथे । उनले काँग्रेस नेतृ सुजता कोइरालासँग व्यावसायिक साझेदारी गरेको पनि खुलेको थियो । प्रहरीले पक्राउ लगत्तै उनलाई सार्वजनिक नै गरेको थियो । ओरेण्टल सहकारी संस्था २०६९ सालदेखि नै बन्द छ । सहकारी ठगी र अन्य लेनदेन तथा ठगी मुद्दामा संस्थाका सञ्चालक बस्नेत तीन वर्ष जेल परेर रिहा भएका थिए ।

पछिल्लो समय प्रहरीले ठूला सहकारीको बचतकर्ताको बचत अपचलन गरेको आरोपमा धमाधम सञ्चालकहरूलाई पक्राउ गरिरहेको छ । सहकारी अभियानकर्मीहरूले पनि प्रहरीले एमाले निकट सहकारी सञ्चालकलाई सार्वजनिक नगरेर काँग्रेस निकटलाई मात्रै सार्वजनिक गरिरहेको गुनासो गरेका छन् । नेकपा एमाले निकट सञ्चालकप्रति प्रहरी संगठन पनि उदार बनेको र काँग्रेसका सहकारीकर्मीप्रति आक्रामक बनेको एक सहकारी अभियानकर्मी बताउँछन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल भने पृथक धारणा राख्छन् । उनी कुन सञ्चालक कुन राजनीतिक दल निकट भन्ने सेकेण्डरी विषय भएपनि पहिलो विषय सबै सहकारीकर्मी भएको बताउँछन् ।

उनी यो सकसको समयमा सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्ने र राज्यले पनि सोही ढंगले सहजीकरण गरिदिनु पर्ने अवस्थामा धमाधम पक्राउ गरेर वातावरण नै बिगार्ने काम गर्न नहुने बताउँछन् । ‘अहिलेको विषम परिस्थितिको समयमा सबैले सहकार्य गर्न आवश्यक छ, सबैको समन्वय गरेर यस क्षेत्रको सुधार गर्न जरुरी छ । तर, धमाधम पक्राउ गरेर वातावरण नै बिगार्नु हुँदैन,’ उनले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी कुनै पनि व्यक्ति राजनीतिक दल निकट भनेर प्रहरीबाट उन्मुक्ति दिने वा जगाउने भन्ने विषय नहुने धारणा राख्छन् । ‘हामीले अपराधलाई हेर्छौं, कुन व्यक्ति कुन राजनीतिक दल निकट भन्ने विषयले हामीलाई फरक पर्दैन, सीआईबीले पक्राउ गरेर पत्रकार सम्मेलनभन्दा पनि प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेको छ,’ उनले भने ।

दान बहादुर कार्की ।

यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्य पनि प्रहरी संगठनबाट त्यस्तो विभेद नहुने धारणा राख्छन् । ‘को व्यक्ति कुन पार्टीमा आवद्ध छ भनेर हामीलाई मतलब हुँदैन, हामीलाई कुनै पनि पार्टीसँग सरोकार भएन, हामीले सानो परिमाणका सहकारीलाई सार्वजनिक गर्दैनौं, ठूला सहकारीको ठगीको विषय पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छौं,’ उनले भने ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले पनि प्रहरीले कानुन सम्मत काम गर्ने गरेको धारणा राखे । ‘को कुन पार्टीको हो हामीलाई जानकारी नै हुँदैन, हामी कानुनसम्मत काम गर्छौं,’ उनले भने ।

जो पक्राउ नै पर्दैनन्

बचतकर्ताको अर्बौं रकम अपचलन गरेर फरार रहेका केही सहकारी सञ्चालकलाई नेपाल प्रहरीले पक्राउ नै गर्न सकेको छैन । बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेका जितेन्द्रबहादुर (जीबी) राई, भरत महर्जन, देवकुमार नेपाली र रामबहादुर गौतम पक्राउ नै परेका छैनन् ।

सरकारले गौतमको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको छ भने सो सहकारी संसदीय छानबिन समितिको टिओआरमा पनि परेको छ । सहकारीका बचतकर्ताको बचत अहिलेसम्म अध्यक्ष गौतमले फिर्ता गर्न सकेका छैनन् । सरकारले २०८० को चैतमा गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीका १६ सय बचतकर्ताले ३ अर्ब रुपैयाँ बचत फिर्ताको माग गरेका छन् ।

सहकारी क्षेत्रको नियामक सहकारी विभाग र मन्त्रालयका पदाधिकारीहरूसँग पनि गज्जवको सम्बन्ध भएका अध्यक्ष गौतमले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै हात उठाएर फरार समेत भएका थिए । उनले उतैबाट लामो समय वक्तव्यबाजी पनि गरे । उतैबाट सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने बचन दिए । त्यो बिचमा नत नियामक नत अन्य सरकारी निकायबाट उनलाई बचत फिर्ताका लागि प्रतिबद्धता गराउने प्रयास हुन सकेन । पछि उनी नेपाल फर्किए ।

नेपाल फकिँदा उनी बचतकर्ताको पैसा अपचलन ठगको रूपमा होइन विदेशमा कुनै खेल खेलेर स्वर्णपदक जितेर फिर्ता भएको खेलाडीको जस्तो खादामाला हालेर फर्किए । त्यो उनको सरकारसँगको हिमचिम र शक्ति संघर्ष अभ्यस्त भएको कारणले हो । माओवादी निकट मानिने गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठूलो लाभ यतिबेलै लिए । परिणमस्वरुप उनी पक्राउ समेत पर्न सकेका छैनन् । अब सत्ता गठबन्धन परिवर्तन भएपछि भने उनको त्रासको मिटर बढ्ने देखिन्छ ।

क्रमश: जीबी राई, भरत महर्जन, रामबहादुर गौतम र देवकुमार नेपाली ।

यस्तै, सबैभन्दा बढी रकम ठगेको आरोप जीबी राईलाई पनि लागेको छ । राईले हाम्रो नयाँ कृषि सहकारी संस्था, सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको ८ अर्ब बढी बचत ठगेको आरोप छ । उनी हाल फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी संसदीय छानबिन समितिको टीओआरमा परेका छन् ।

यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थाको अर्बौं बचत ठगेर अध्यक्ष भरत महर्जन पनि फरार छन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी विदेशमा रहेको बुझिएको छ । महर्जन काँग्रेस निकट मानिन्छन् ।

यस्तै, इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीमाथि पनि सहकारीका बचतकर्ताको अर्बौं रकम ठगेको आरोप छ । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी हाल ढोरपाटन नगरपालिकाका मेयरका रुपमा कार्यरत छन् । उनले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । लामो समय उनी फरार पनि भए । पछि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको बचत फिर्ता दिने प्रतिबद्धता पनि गरेका थिए । उनीविरुद्द उजुरी परे पनि उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

करिब ३०० पक्राउ

नेपाल प्रहरीले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा करिब ३ सय जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले बचत ठगीको प्रकरणमा मुछिएका करिब ३०० जना मात्रै पक्राउ गरेको बताएको छ भने साढे ८ सय जना फरार रहेको जानकारी दिएको छ ।

सीआईबीले मात्रै चालु आर्थिक वर्षमा २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । तीन वर्षको अवधिमा सीआईबीले ६२ जनालाई पक्राउ गरेको तथ्यांक उपलब्ध गराएको छ ।

सीआईबीले यस वर्ष आर्जन बहुउदेश्यीय सहकारी संस्थाका ८ जना, देउराली बचत तथा ऋण सहकारी संस्थाका ३ जना, साई स्वागत बचत ऋण सहकारी संस्थाका १ जना, नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी संस्थाका २ जना, साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी संस्थाका एक जना, रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका ३ जना र हाम्रो नयाँ कृषि सहकारी संस्थाका ५ जना सञ्चालक गरी कुल २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.