४० मेगावाट विद्युत पीपीए गर्न बंगलादेशले बोलायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने 

  २०८१ असार २५ गते १३:२६     विकासन्युज

काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद/बिक्री सम्झौता (पीपीए)  गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।

बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो ।

कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबीले १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो ।

प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्ने छ । त्यसपछि बीपीडीबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्ने छ । प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

‘त्रिपक्षीय विद्युत बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं,’ उनले भने, ‘नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं ।’

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन् ।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन-१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतकाे मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत पुग्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए । घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे ।

‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत बिक्रीका लागि हामीले पाएको दर उचित हो’, उनले भने, ‘सरकार-सरकार तहमा बंगलादेशसँग सांकेतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीय रूपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत व्यापारका अरु धेरै बाटाहरू खुलाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.