प्राधिकरणले रिलायन्स, घोराही र अर्घाखाँची उद्योगमा बिजुली काट्यो, साँझसम्म कुरेका थिए कुलमानले

  २०८१ असार २५ गते २२:४८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगको विद्युत लाइन काट्न सुरु गरेको छ । विद्युत बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन प्राधिकरणले फेरि काट्न थालेको हो ।

प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटिएको हो ।
विद्युत बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता बापतको रकम तिर्न मंगलबारसम्मको अल्टिमेटम दिएको थियो ।

‘ हामीले आज साँझसम्मको समय दिएका थियौं । तर, बक्यौता तिर्नु छोडेर उहाँहरु पत्रकार सम्मेलनमा लाग्नुभयो, साँझसम्म कुर्दा पनि बक्यौता नतिरेपछि हामीले लाइन काटेका हौं,’ प्राधिकरण स्रोतले भन्यो ।

आज विद्युतकाे लाइन काटिएका तीन उद्योगमा रिलायन्सले सवा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएकाे छ ।

उद्योगीहरु भने बक्याैता नतिर्ने अडान राख्दै आएका छन् । मंगलबार मात्रै उद्योगीले पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमार्फत प्राधिकरणले सरकारको निर्णय नमानेर अनावश्यक दुःख दिएको बताएका थिए ।

उद्याेगी ध्रुब थापाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्देशन दिइसकेको र न्यायिक आयोगको सिफारिस तथा मन्त्रिपरिषद्‌को निर्देशन विपरीत हुने गरी प्राधिकरणले उद्योगीलाई तर्साउने तथा धम्काउने काम गरिरहेको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आयोगले औंल्याएको बक्यौता तिर्न उद्योगी व्यवसायी तयार रहँदा पनि विनाप्रमाण प्रयोग नै नभएको विद्युत् महसुल मागेर प्राधिकरणले दुःख दिएको बताएका थिए ।

यस्तै, उद्योग परिसघका अध्यक्ष राजेश अग्रवालले आयोगको प्रतिवेदन कार्यान्वयन गरेर सरकारले औद्योगिक वातावरण सिर्जना गरेर सहजीकरण गरिदिनुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.