यी हुन् रिलायन्सको सेयर प्रतिकित्ता ९१२ मा किन्ने १८ कम्पनी

  २०८१ असार २६ गते ११:४०     सीआर भण्डारी

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर किन्न १८ कम्पनीले अधिकतम् मूल्य तोकेर आवेदन दिएको पाइएको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा भाग लिएका ६४ वटा कम्पनी मध्ये १८ वटा कम्पनीले अधिकत ९१२ रुपैयाँ मूल्यमा सेयर किन्न आवेदन दिएका थिए ।

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ्ग उद्योगलाई बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्न अनुमति दिएपछि उक्त कम्पनीले गत माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्रीमा राखेको थियो ।

१८ वटा संस्थागत लगानीकर्ताले कुल ११ लाख ७२ हजार ५८३ कित्ताका लागि १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए । १८ कम्पनीले संस्थागत लगानीकर्ताको लागि छुट्याएको सेयरकाे १५२.१५ प्रतिशत अर्थात माग भन्दाभन्दा ५२.१५ प्रतिशत बढी सेयर अधिकतम मूल्यमा किन्ने प्रस्ताव गरेका थिए । कट अफ मूल्यमा आवेदन दिएका यी लगानीकर्तालाई माग बमोजिमको सेयर बाँडफाँट गर्दा नपुगेकाले समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ ।

बुक विल्डिङ्गमार्फत् आईपीओ निष्नकाशन गर्दा गोप्य शिलबन्दीमार्फत् बोलकबोल प्रणालीअनुसार कम्पनीको सेयर मूल्य निर्धारण हुन्छ । त्यसैले बुक विल्डिङ्ग विधि पारदर्शी हुने गरेको अधिकांशको बुझाइ छ । तर बुक विल्डिङ्ग विधिबाट सेयर निष्काशन गर्न लागेको रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा चासो लाख्दै सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डसँग विस्तृत जानकारी मागेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर परेको बारेमा पनि समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको छ ।

‘बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरी नेपाल स्टक एक्सचेञ्जमा बाँडफाँट गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको हो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रतिसेयर ८२०.८० रुपैयाँ मूल्य तोकिएको छ,’ कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

जसमध्ये प्रभु क्यापिटलले १ लाख ५४ हजार १२८ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टले १ लाख ५४ हजार कित्ता, कुमारी धनबृद्धि योजनाले १ लाख १५ हजार कित्ता, प्रभु स्मार्ट फण्डले १ लाख ९ हजार कित्ता, नबिल स्टक डिलरले १ लाख कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

यस्तै कुमारी इक्विटी फण्डले ९० हजार कित्ता, प्रभु सेलेक्ट फण्डले ७६ हजार ७५५ कित्ता, कुमारी क्यापिटलले ७५ हजार कित्ता, गौरव नेपाल इन्भेष्टमेन्ट प्रालिले ६० हजार कित्ता, भेन्चर क्यापिटल प्रालिले ५० हजार कित्ता, कुमारी सुनौलो लगानी योजनाले ३५ हजार कित्ता, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ र नेपाल लाइफ क्यापिटलले ३०/३० हजार कित्ता, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले १५ हजार कित्ता, सिद्धार्थ क्यापिटलले १० हजार कित्ता र एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट प्राइभेटले ८ हजार ७ सय कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये अधिकांश संस्थागत लगानीकर्ता तीन वटा मर्चेन्ट बैंकका म्युचुअल फण्ड रहेका छन् । कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, कुमारी सुनौलो लगानी योजना म्युचुअल फण्ड कुमारी क्यापिटलले सञ्चालन गरिरहेको छ ।

यस्तै प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड प्रभु क्यापिटल र सिद्धार्थ इक्विटी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम सिद्धार्थ क्यापिटलले सञ्चालन गरिरहेका म्युचुअल फण्ड हुन् ।

त्यसैले कुमारी क्यापिटल, प्रभु क्यापिटल, सिद्धार्थ क्यापिटल, गौरभ नेपाल इन्भेष्टमेन्ट, नबिल स्टक डिलर, नेशनल फण्ड म्यानेजमेन्ट, नेपाल लाइफ क्यापिटल, एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट र भेञ्चर क्यापिटल गरी ८ वटा मुख्य संस्थागत लगानीकर्ताले आवेदन दिएको देखिन्छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गर्न लागेको हो ।

६४ वटा संस्थागत लगानीकर्ताहरूमध्ये यी १८ वटा लगानीकर्ताले कम्पनीले तोकेको अधिकतम मूल्यमा बोलकबोल गरेका छन् । जबकी अन्य ४६ वटा लगानीकर्ताले ९ सय रुपैयाँभन्दा कम मूल्यमा टेण्डर हालेका थिए । सबैभन्दा कम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँमा टेण्डर हालेको थियो । १८ वटा कम्पनीले ६०८ देखि ६७० रुपैयाँसम्ममा सेयर किन्न आवेदन गरेका थिए ।

One comment on "यी हुन् रिलायन्सको सेयर प्रतिकित्ता ९१२ मा किन्ने १८ कम्पनी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.