ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी

  २०८१ असार २६ गते १८:१३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए ।

समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायत भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गएपछि विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सहज रूपमा पैसा पठाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.