एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

  २०८१ असार २७ गते १४:४०     विकासन्युज

चितवन । चितवनमा एक अर्ब रुपैयाँ लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको बिहीबार यहाँ शिलान्यास गरिएको छ ।

रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए । ‘कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ’, उद्यमी श्रेष्ठले भने । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ ।

उद्यमी श्रेष्ठले भने, ‘अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नु पर्दैन ।’ उत्पादन खेर जाने समस्या उहाँ आफैँले भोगेकाले शीतभण्डारलाई प्राथमिकता दिएको उनको भनाइ छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने उनको लक्ष्य छ ।

उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताए । ‘चितवनमा सम्पन्न भएपछि अन्य ठाउँमा शीतभण्डार निर्माण गरिनेछ’, उनले भने ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले शीतभण्डार निर्माणबाट  चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने उनीहरुको भनाइ छ ।

‘एग्रीवस्तु प्रालि’का प्रबन्ध निर्देशक आशिष उपाध्यायले किसानलाई लक्षित गरेर ल्याएको यो परियोजनाले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.