काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी

  २०८१ साउन १ गते १०:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् ।

प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् ।

काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।

त्यस्तै यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनले बताएका छन् ।

मेयर शाहले लेखेका छन्,‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवतीहरू रोजगार/स्वरोजगार भएको पनि मेयर शाहको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.