२०८१ साउन २ गते १२:३४ विकासन्युज
काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले ब्याजदर ४९ प्रतिशतसम्म घटाएका छन् । गत आर्थिक वर्षको साउनको तुलनामा यसवर्ष बैंकहरूले ४९ प्रतिशतसम्म ब्याजदर घटाएका हुन् ।
तरलता सहज हुँदै गएपछि बैंकहरूले मुद्दती निक्षेप र साधारण बचतमा ब्याज घटाएका हुन् । तथ्यांक अनुसार एक वर्षको अवधिमा बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ३१.११ प्रतिशत र संस्थागततर्फ २९.२८ प्रतिशत ब्याजदर घटाएका छन् भने साधारण बचतमा औसत ३३.८८ प्रतिशतसम्म ब्याजदर घटाएका छन् ।
२०८१ साउनमा बैंकहरूको औसत ब्याजदर मुद्दतीमा व्यक्तिगततर्फ ६.७२ प्रतिशत बिन्दु, संस्थागत ५.४९ प्रतिशत बिन्दु र साधारण बचतमा ४.७४ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्ष २०८० को साउनमा औसत व्यक्तिगततर्फ ९.७७ प्रतिशत बिन्दु, संस्थागततर्फ ७.७७ प्रतिशत बिन्दु र बचतमा ७ प्रतिशत बिन्दु ब्याजदर थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकहरूको ब्याजदर आधाभन्दा बढीले घटेको पुष्टि गरेको छ । राष्ट्र बैंकको २०८१ जेठसम्मको तथ्यांक अनुसार बैंकहरूको औसत ब्याजदर ६.०६ प्रतिशत छ । जसमध्ये बचतमा ३.७७ प्रतिशत र मुद्दती निक्षेपमा ८.३८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा औसत ब्याजदर ७.९९ प्रतिशत थियो । त्योबेला औसत ब्याजदर बचतमा ५.८४ प्रतिशत र मुद्दती निक्षेपमा १०.२७ प्रतिशत थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.