अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

  २०८१ साउन २ गते १४:५४     विकासन्युज

चितवन । चितवनका ७५ प्रतिशत अण्डा उत्पादक किसानहरु विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसानहरु विस्थापित भएका हुन् ।

बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उनले भने, ‘जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।’

अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उनी बताउँछन् । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य १६ रुपैयाँ रहेको छ ।

गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैङ्कको ऋण र ब्याज तिर्न नसकेको बताउँछन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कँडेलको भनाइमा दुई लाख ८२ हजार उद्योगी बैङ्कको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उनको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउँछन् । अघिल्ला वर्षहरुमा बैङ्कको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको उनको भनाइ छ ।

दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनी बताउँछन् । नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको सङ्ख्या १५ रहेको छ ।

ठूला फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि विसं २०७९ असोज २९ गते लेयर्स कुखुरापालक किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए । सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसानसमेत आउन थालेका हुन् ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताए । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ । सङ्घ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा ८ रुपैयाँभन्दा तल पाएका थिए ।

त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उनको भनाइ छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उनले जानकारी दिए । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.