प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वदेशी लगानी बढाउनुपर्छ : अध्यक्ष ढकाल

  २०८१ साउन २ गते १८:३८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आत्मविश्वास बढाउने नीति ल्याउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरेका छन् ।

बुधबार मन्त्री भण्डारीसँग महासंघको प्रतिनिधिमण्डलले गरेकाे भेटमा अध्यक्ष ढकालले उक्त आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले थप स्वदेशी लगानी आउनका लागि निजी क्षेत्रको विश्वास बढाउनुपर्ने बताए । विदेशी लगानीकर्ताले लगानी गर्नुअघि बजारमा स्वदेशी लगानीको प्रवाह हेर्ने भएकाले स्वदेशी लगानी आवश्यक रहेको उनले बताए ।

स्वदेशी लगानी बढाएर मात्रै विदेशी लगानी बढाउन सकिने ढकालले बताए । नेपालको अर्थतन्त्र उकास्न लगानी आवश्यक रहेको भन्दै उनले लगानीकर्तामैत्री नीति ल्याउनुपर्नेमा जोड दिए ।

उक्त भेटमा मन्त्री भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्ने बताए । उनले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताए । मन्त्री भण्डारीले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउनेमा विश्वस्त पारे ।

उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताए ।

यस्तै अध्यक्ष ढकालले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा अत्याधिक भाडा लिइएको बारे मन्त्री भण्डारीलाई जानकारी दिँदै यस विषयमा पनि ध्यान दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.