राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी

  २०८१ साउन ३ गते १७:०७     विकासन्युज

काठमाडौँ, साउन ३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए । उनले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेश फर्काउन सकिने बताए । उनले उद्योग मन्त्रालय नीतिगत रूपमा अहिले पनि ओझेलमा परेको जिकिर गरे ।

मन्त्री भण्डारीले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताए । उनले मन्त्रालयले नीतिगत सुधारका पक्षहरूलाई विशेष महत्त्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताए ।

उनले लगानी सम्मेलनपछि लगानी सहजीकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताए। सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरू सञ्चालन हुने ठाउँमा पुगेको उनको भनाइ छ ।

उद्योग मन्त्री भण्डारीले सुर्तीजन्य पदार्थहरूको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भए पनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरू सञ्चालन गरी रहेको जानकारी दिए । उनले छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताए ।

उद्योग मन्त्री भण्डारीले नेपाल अझै सुर्तीजन्य पदार्थहरूको प्रयोगसम्बन्धी ऐन, कानुन र नीतिमा अभ्यस्त बन्न नसकेको बताए । उनले सुर्तीजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भए पनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताए ।

उनले कोभिडपछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठुलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा सङ्कुचन आएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.