पुतलीबजार : खरको छानामुक्तदेखि डिजिटलसम्मको यात्रा

  २०८१ साउन ६ गते १३:३७     राधिका आचार्य

काठमाडौं । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो ।

स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो । यो पालिका यस जिल्लाको सदरमुकामका रुपमा समेत रहेको छ । पालिका आधिखोलाको काखमा रहेको छ भने सिद्धार्थ राजमार्ग कोरिडोरमा पर्दछ ।

पुतलीबजार नगरपालिका धार्मिक तथा पर्यटकीय रूपमा पनि उतिकै महत्वपूर्ण छ । पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख तुलसीराम रेग्मी बताउँछन् । उनका अनुसरा नेपाल सरकारले दिएको दिवा खाजा १५ रुपैयाँमा पालिकाले १० रुपैयाँ थपेर विद्यार्थीहरुलाई दैनिक २५ रुपैयाँको खाजा उपलब्ध गराएको छ ।

त्यस्तै, प्राविधिक शिक्षा (इन्जिनियर) अध्ययन गर्नको लागि नगरपालिकाभित्रका १४ वडाका २/२ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई वार्षिक प्रतिव्यक्ति १ लाख ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको उनी बताउँछन् । नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा ई- हाजिरीको व्यवस्था लागु गरिएको छ भने विद्यार्थीलाई पोशाक वितरण र पुस्तकालय स्थापना समेत गरिएको छ ।

‘पालिकाले विद्यालयका बालबालिकाको मुटु र आँखाको स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरेको छ,’ उनी भन्छन्, ‘प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रिया र क्षमता विकास तालिम पनि हामीले सञ्चालन गरिरहेको छौं ।’

एसईई र कक्षा ८ मा उत्कृष्ट नम्बर वा जीपीए ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान र नगद पुरस्कार प्रदान गर्दै आएको छ । यसले विद्यार्थी तथा शिक्षक दुवैको मनोबल उच्च हुने उनको भनाइ छ । पालिकाद्वारा विद्यालयका शिक्षक र कर्मचारीका लागि क्षमता विकास कार्यक्रम पनि सञ्चालन गरिएको उनी बताउँछन् ।

स्वास्थ्य सेवातर्फ भने पालिकाले रक्तसेवा सञ्चालन गरेको छ । चाहिएको बेला जो कोहीले यस बैंकबाट रगत लिन सकिने व्यवस्था पालिकाले गरेको छ । साथै पालिकामा रहेको अस्पतालमा डाइलासिस सेवा सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसरा माझी, बोटो, कुमाललगायतका सीमान्तकृत एवं विपन्न वर्गका जनताहरूको स्वास्थ्य बिमा गरिएको छ । निःशुल्क मुटु जाँच शिविर सञ्चालन तथा शल्यक्रिया सेवा प्रदान गर्ने, गर्भवतीलाई क्याल्सियम वितरण गर्ने, स्वास्थ्य आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरीलाई १५ सय रुपैयाँ प्रदान गर्ने लगायत कार्यक्रमहरू पनि पालिकाले सञ्चालन गरेको छ ।

स्वास्थ्य संस्थातर्फ ई हाजिरी तथा अनलाइन रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली आरम्भ गरेको उनले बताए । ‘पालिकाभित्रका ३ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘अस्पतालमा पालिकाको तर्फबाट चिकित्सक नियुक्ति गरिएको छ ।’

पालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेको छ । पालिकाले किसानलाई हाते ट्याक्टर अनुदानमा उपलब्ध गराउने गरेको छ । त्यस्तै पालिकाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । सिताके च्याउ उत्पादन र प्रवद्र्धनमा जोड दिएको छ भने सुन्तलाको कलमी बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी स्थापना गरेको उनी बताउँछन् । पालिकाले प्लान्ट क्लिनिकका माध्यमद्वारा बाली संरक्षण गरेको छ । साथै तरकारी संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।

पालिकाले एक घर एक करेसाबारी र एक टोल एक नर्सरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोदो खेती गर्ने किसानलाई पालिकाले अनुदानको व्यवस्था गर्दै आएको छ । पालिकाले कृषिलाई जोड दिने क्रममा प्रत्येक वडामा कृषि र पशुका प्राविधिक खटाइएको उनले बताए ।

यति मात्रै होइन किसानहरूलाई अन्य थुप्रै सुविधा पनि उपलब्ध गराएको छ । किसानलाई प्लास्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने, धान र मकैको बीउमा ५० प्रतिशत अनुदान, कृषि हाट बजार स्थापना, आलुको बीउ बीजन र कुखुराको चल्ला वितरण, माटो परीक्षण, किसानलाई सेलर, हलर (सानो मिल) मा अनुदान लगायतका कार्यहरु गर्दै आएको छ । पालिका कृषिलाई यान्त्रिकीकरणमा रुपान्तरित गर्न र व्यावसायिक कृषितर्फ उन्मुख रहेको उनले बताए ।

पालिकाले पशुतर्फ पनि थ्प्रै कामहरू गर्दै आएको छ । पालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ भने पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । पालिकाले पशु वधशाला निर्माण गरेको र घरदैलोमा पशु स्वास्थ्य सेवा तथा चिकित्सा सेवा प्रदान गरेको उनको दाबी छ ।

नगर प्रमुख तुलसी रेग्मी र उपमेयर देवी अर्याल ।

पशुहरुमा देखिने महामारी रोग नियन्त्रण गर्नमा सक्रिय भूमिका खेलेको छ भने पशु खोप कार्यक्रम निःशुल्क सञ्चालन गरेको उनी बताउँछन् । त्यस्तै, व्यावसायिक कृषकहरुलाई पशुपालन तालिम दिने, बाख्रा वितरण गर्ने, फर्म दर्ता गरी बाख्रा पालन, भैँसी पालन गर्ने किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिने,  डाले घाँसको बीउ निःशुल्क वितरण गर्ने लगायतको काम पालिकाले गरिरहेको छ ।

पालिकाले सुशासनको क्षेत्रमा पनि राम्रो काम गरिरहेको नगरप्रमुखको भनाइ छ । पालिकाले नेपाल सरकारले लागू गरेको पाम्स (जिन्सी व्यवस्थापन) सफ्टवेयर लागू गरेको छ । वडा सचिवहरुलाई पञ्जीकरणको तालिम दिनुको साथै आम नागरिकमा पनि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले पुराना पञ्जीकरणका अभिलेखलाई डिजिटाइज्ड गरेको छ भने वडा कार्यालयमा प्रत्येक महिनाको ३ गते नियमित बैठक बस्ने निति लिएको छ । ‘पालिकालाई एउटा नियमा हिडाउँन सक्यौं भने मात्रै हामी पनि सिस्टममा हुन्छै भन्ने हाम्रो सोचाइ हो,’ उनले भने ।

पालिकाले प्रविधिलाई जोड दिँदै डिजिटल पालिका घर नक्सा कार्यक्रम आरम्भ गरेको छ । पालिकाले अनुगमन कोष हटाई खर्च कटौती गरेको उनले बताए । साथै अनलाइन बिल्डिङ पर्मिट प्रणाली लागू गरेको छ । पालिकाले अनलाइन कर प्रणाली लागू, डिजिटल नागरिक बडापत्र जारी, ई हाजिरी वडा, स्वास्थ्यमा र स्कूलमा विस्तार,  नागरिक सहायता कक्ष, स्तनपान कक्षलगायत आरम्भ गरेको छ । यस पालिकामा वडामै योजना सम्झौता हुने गरेको उनी बताउँछन् ।

पालिकाले सामाजिक सुरक्षातर्फ भने ज्येष्ठ नागरिकको मासिक भत्ता बैंकबाट उपलब्ध गराउँदै आएको छ । त्यस्तै ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा, ज्येष्ठ नागरिकको मोतियाविन्दुको अपरेसन, अपांगता भएकामध्ये क वर्गलाई स्याहार भत्ता प्रदान गर्दै आएको छ ।

उनका अनुसरा सामाजिक सुरक्षा लाभग्राहीहरूको नामावाली वेबसाइटमा प्रकाशित गर्ने र पालिकाले स्कूल भर्नामा जन्मदर्ता अनिवार्य गर्ने काम गरेको छ । साथै, ज्येष्ठ नागरिक र अपांगता भएकालाई परिचयपत्र वितरण गरेको छ ।

पुतलीबजार नगरपालिकाले महिलाको आयआर्जनका लागि सिलाइ-बुनाइ तालिम दिने गरेको उनी बताउँछन् । ‘पालिकामा कोहीपनि महिलाहरू बेरोजगार बस्न नपरोस् भनेर सिलाइ बुनाइ तालिम सञ्चालन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘घरेलु हिंसा न्यूनीकरणका लागि कानुनी परामर्श सेवा प्रदान गर्ने, नगरभित्रका हरेक वडामा पुग्ने सडक निर्माण, फोहोर संकलन, वर्गीकरणका लागि सरसफाइ केन्द्र खडा गर्ने लगायतका कामहरू हामिले गरिरहेका छौं ।’

याे पालिका खरको छानामुक्त पालिकाको रुपमा समेत चिनिएको छ । पालिकाले मगर दिवसमा बिदा दिने गरेको छ । मगर समूदायको बाहुल्यता भएका कारण मगर दिवसमा बिदा दिने गरिएको रेग्मी बताउँछन् । विदेशबाट फर्किएमा व्यक्तिहरूलाई आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिन विदेशबाट फर्किएकाहरूलाई प्रत्साहनको व्यवस्था गरिएको उनी बताउँछन् ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई वोर्यर बाख्रा वितरण गर्ने, साझेदारीमा रोजगारमूलक कार्यक्रम सञ्चालन तथा भौतिक संरचना निर्माण, वैदेशिक रोजगारीमा जानेलाई परामर्श सेवा दिने, वैदेशिक रोजगारीमा अंगभंग भएका वा मृत्यु भएकाको परिवारलाई कल्याणकारी सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने लगायतका काम पालिकाले गर्दै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पुतलीबजार नगरपालिकामा ११ हजार ८८१ घर धुरीमा ४१ हजार ७४३ जनाको बसोबास रहेको छ । नगरपालिकाको जनघनत्व २८४ र साक्षरता ८२.८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्षेत्रफल १४७.१९ वर्ग कि मिटर रहेको पालिकाको साइटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.