२०८१ साउन ६ गते १४:०२ विकासन्युज
काठमाडौं । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
आइतबार बिहान उनीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।
आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिबारदेखि नै कफ्र्यू आदेश जारी गरेको छ । बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ । बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरु एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् । उनले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताइन् ।
‘एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएका थियौँ । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघि देखि नै आउन खोजेका थियौँ । ढाकाको कलेज हो हाम्रो, हामीलाई नोटिस आएको दिनदेखि नै धेरै नै साथी फर्किसक्नुभएको छ, हामीलाई कलेजले सेभ छ भनिरह्यो’, उनले भनिन् ।
त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रस्त बनेको बताए । उनीहरुले आफूहरुलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए ।
त्यस्तै अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले फोन गर्दा समेत बंगलादेशस्थित नेपाली दुतावासले नउठाएको बताइन् ।
उनले भनिन्, ‘एम्बेसीले सहयोग गरेन, गाडी पठाएन, एम्बेसीले फोन पनि उठाएन ।’
परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.