२०८१ साउन ६ गते १७:५४ विकासन्युज
काठमाडौं । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चिन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ ।
पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान–प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनको प्रचार लगायतका विषयमा अहिलेसम्मको ठूलो सम्झौता भएको हो ।
पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सम्झौता भएको संघका अध्यक्ष निमा निरु शेर्पाले जानकारी दिए । हाल पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगै पदयात्रा तथा आरोहणका लागि जाने कतिपय पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार यसका लागि ‘हाई अल्टिच्युड म्याउन्टेन रेस्क्यू सेन्टर’ स्थापना गर्ने र हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपतकालीन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ । यसका लागि हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम स्थापना गर्ने सहमति भएको छ ।
त्यस्तै, दुवै निकाय मिलेर संयुक्त रूपमा ‘हिमालयन माउन्टेरिङ कल्चर सेन्टर’ को निर्माण गर्ने सहमति भएको पनि उनले बताए । जसअनुसार दुवै निकायले दुवै पक्षको आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धनका लागि मद्दत गर्नेछन् ।
त्यसैगरी पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने सहमति भएको छ ।
उनका अनुसार विशेषगरी दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने सहमति भएको हो । यस्तै अन्य हिमाल चढ्न जानेहरूलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणको काम गरिनेछ ।
सहमतिअनुसार आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिइनेछ । यसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि आरोहीलाई नेपाल पठाउनेछ ।
यी सम्झौताहरू कार्यान्वयनका लागि संघले सबै निकायका प्रतिनिधि रहने गरी प्रस्ताव अघि सारिएकाे छ ।
प्रस्तावमा चीनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वातारोहण संघको प्रतिनिधि रहने अध्यक्ष शेर्पाले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.