२०८१ साउन ६ गते १८:०९ विकासन्युज
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७ सय २ रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले ८ सय १३ वटा घटनाका प्रभावितलाई उक्त रकम वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो ।
उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई १ करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार १ सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई २ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।
यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा १ सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार ७ सय १० रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।
भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत ९१ हजार रुपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्याएको उनले बताए ।
घरगोठ क्षतिवापत ५ लाख ३५ हजार ९ सय ७५ रुपैयाँ राहत वितरण गरिएको छ । अन्नबालीमा ५ सय २४ पटक क्षति भएको र ३६ लाख ९ हजार ३ सय ७५ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.