अर्थमन्त्री र गभर्नरलाई कठपुतली बनाउँदै युवराज खतिवडा

  २०८१ साउन ८ गते १२:४९     सन्तोष रोकाया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा नियुक्त भएको नियुक्ति पत्र हातमा नपर्दै डा.युवराज खतिवडाले आफ्नो ताकत देखाइ दिए । अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच साउन ४ गते शुक्रबार मौद्रिक नीति ल्याउने सहमति समेत भएर राष्ट्र बैंकले सञ्चालक समिति बैठक पनि डाकिसकेको अवस्थामा खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि एकाएक मौद्रिक नीति सार्वजनिक गर्ने प्रयास विफल भयो । आफ्नो इन्ट्रीले डा.खतिवडाले चकित मात्रै पारेनन् अर्थमन्त्री र गभर्नर अधिकारीलाई लोप्पा खुवाइ दिए । अर्थमन्त्रीभन्दा ‘सुपर अर्थमन्त्री’ हुँ भन्ने भाष्य बजारमा फिजाइ दिए ।

गभर्नर अधिकारीले पनि ‘जसैजसै पण्डित बाजे उसैउसै स्वाहा’ गरे । उनीसँग विकल्प पनि थिएन । नयाँ सरकार गठन भएको अवस्थामा, प्रधानमन्त्रीका विश्वास पात्र र आर्थिक सल्लाहकारले भनेको नमान्न पनि गभर्नरलाई कठिन । पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष आफूले विगत धेरै वर्ष स्वीकार गरेको पथप्रर्दशक भएका नाताले पनि गभर्नर अधिकारीले खतिवडाका भनाइ नमान्न कठिन भयाे। शुक्रबार बिहान डाकिएको सञ्चालक समिति बैठकलाई मौद्रिक नीतिको पहिलो चरणको छलफल भनेर गभर्नरले दोस्रो चरणको छलफलपछि  मौद्रिक नीति जारी हुने बताए ।

अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारी ।

गभर्नर अधिकारीले त्यसअघि बिहीबार साँझ डा. खतिवडालाई भेटेका थिए । कुनै बेलाका ‘गुरु-शिष्य’को सम्बन्ध रहेका ‘युवराज-महाप्रसाद’ अहिले पनि उतिकै निकट छन् । युवराजले भनेको कुरा अधिकारीले सकेसम्म नकार्दैनन् । परिणामस्वरुप अर्थमन्त्रीसँग शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने समझदारी तोड्दै गभर्नरले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाले दिएको निर्देशनलाई पालना गर्न पुगे । यसले पनि गुरू-शिष्यको सम्बन्धमा थप मलजल पुगेको छ ।

डा. खतिवडाले जसरी गर्भनर अधिकारीलाई नचाउन सुरु गरेका छन् त्यसरी नै अर्थमन्त्री विष्णु पौडेललाई पनि नचाउन सक्ने सामर्थ्य उनीसँग छ । नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीसँग तर्कवितर्कसहित दोहोरो सम्वाद गर्न सक्ने दोस्रो व्यक्ति नहुनु र ओलीका विश्वासमात्र खतिवडा हुनुले एमाले उपाध्यक्ष समेत भएर पनि अर्थमन्त्री विष्णु पौडेलले खतिवडालाई बेवास्ता गर्न सक्दैनन् । साथै, आर्थिक मामिलामा गहिरो जानकारी र उच्चस्तरको विश्लेषण क्षमता खतिवडासँग हुनु र त्यही विषयमा अर्थमन्त्री पौडेलसँग कमजोर ज्ञान हुनुले पनि पौडेलले खतिवडालाई काट्न सक्दैनन् । खतिवडाले जे भन्छन्, अर्थमन्त्री पौडेलले मानेनन् भने खतिवडाकै सुझावलाई प्रधानमन्त्रीको निर्देशन भनेर अर्थमन्त्रीसँग ठोकिनेछ । त्यसैले पनि खतिवडाले अर्थमन्त्रीलाई पनि राम्ररी नचनाउने सम्भावना छ ।

नेकपा एमाले सत्तामा नहुँदा गुमनाम बन्ने खतिवडा पार्टी सत्तामा पुग्दा भने सत्ताकै सुरुवाल समात्न पछि पर्दैनन् । ओलीले काखी च्याप्दा नै खतिवडाले पटक-पटक सत्ताको स्वाद चाखेका छन् । सक्रिय राजनीति गर्नेलाई पछि पारेर ओलीले खतिवडालाई नै ठूलै पद थमाइदिन्छन् । त्यसैले पनि खतिवडा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ताको वरिपरि हुँदा उनले गरेको काम र दिएको निर्देशनले कसैले इन्कार गर्न वा आनकानी गर्न पाउँदैनन् । गत शुक्रबार सार्वजनिक हुनुपर्ने मौद्रिक नीति सोही कारणले नै सार्वजनिक नभएकाे जानकारहरू बताउँछन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका सामु अर्थमन्त्री र गभर्नर निरह मात्रै बनेका छैनन्, अब उनीहरूले खतिवडाको कठपुतली बन्ने सम्भावना देखिएको छ ।

डा. खतिवडा सत्ताको वरिपरि हुँदा सधैं चर्चामा रहन्छन् । तार्किक टिप्पणी, सैद्धान्तिक ज्ञान र खरो प्रस्तुति दिन रुचाउने खतिवडालाई धेरैले संर्घषबिनाको सत्तारोहण गर्ने व्यक्तिका रूपमा पनि चिन्छन् । आफ्नो जीवन राजनीतिमै समर्पित गरेका राजनीतिज्ञले नपाएको पद खतिवडाले चुट्कीको भरमै पाएर सबैलाई चकित पार्छन् । त्यो उनको विशेषता हो । खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता  गज्जबको छ । त्यो उनले माधव नेपाललाई रिझाएर पाएको गभर्नर पद होस् वा ओलीको शुश्रूषा बनेर सांसद नबनी अर्थमन्त्री बन्नेसम्म नै किन नहोस् । उनले हरेक पटक ओली सत्तामा हुँदा छक्का हानेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा ।

एकै व्यक्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, अमेरिका जस्तो सुविधा सम्पन्न देशको राजदुत र अर्थमन्त्री बन्ने सौभाग्य सायदैले पाउँछन् । त्यो लाभ पाउने ‘महान’ व्यक्ति हुन् खतिवडा । जिन्दगीभर जागिर, जागिरबाट अवकास पाएपछि निरन्तर राजनीतिक लाभ लिने युवराज खतिवडाकाे तहमा कुनै पनि नेपाली पुगेका छैनन् ।

डा. खतिवडा नेपाल राष्ट्र बैंकमा ३० वर्ष जागिर खाएर अनिवार्य अवकाश पाएका कर्मचारी हुन् । वि.स. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ती गरेको थियो । योजना आयोगको उपाध्यक्षको भूमिका निर्वाह गर्दागर्दै खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर बने ।

गभर्नरको पदावधी सकिएको केही समयपछि नै खतिवडालाई २०७२ सालमा ओली नेतृत्वको सरकारले पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो । बामगठबन्धनको तर्फबाट ओलीको नेतृत्वमा सरकार बनेपछि तिनै खतिवडालाई पहिला अर्थमन्त्रीमा नियुक्त गरेर पछि राष्ट्रपतिमार्फत् राष्ट्रिय सभा सदस्यको सपथ ग्रहण गराइयो ।

राजनीतिक पृष्ठभूमी नभएको व्यक्ति नेपाल सरकारको अर्थमन्त्री भएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र ठूलै असन्तुष्टि सिर्जना भएको थियो । तर, उनी ओलीले रुचाइएको पात्र भएकै कारण पदमा टिकिरहे । पछि संवैधानिक रुपमा अर्थमन्त्रीमा रहिरहन नसक्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाए । त्यसलगत्तै उनलाई फेरि अमेरिकाको राजदुत बनाए । नेपाल सरकारको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री भई ७औं मर्यादा क्रममा रहेर काम गरिसकेका खतिवडा १२औं मर्यादा क्रमको राजदुतमा सिफारिस हुँदा धेरैले आश्चर्य मात्र मानेन् डा. खतिवडा पदकै लागि जे र जस्तो पनि गर्न सक्ने रहेछन् भन्ने स्वयम् उनैले पुष्टि पटक-पटक गरिसकेका छन् ।

हुनत त्यसअघि पनि उनी पदकै लागि कुनै मर्यादाक्रम नहेर्ने व्यक्तिका रुपमा परिचित भइसकेका थिए । नेपाल सरकारको अर्थमन्त्रीबाट बाहिरिएको १० दिनमै उनी मन्त्रीसरहको सेवा र सुविधा पाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुँदा मात्र होइन ८ औं मर्यादा क्रममा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेकोे व्यक्ति नेपाल राष्ट्रबैंकको ११ औं मर्यादा क्रममा नियुक्त भएर काम गर्नुले पनि उनी पदकै लागि कतिसम्म गर्छन् भन्ने कुरा पनि विगतका विभिन्न घटना क्रमहरूले पनि उनलाई प्रष्ट्याइसकेको थियो । अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि उनी फेरि अमेरिकाकोे राजदुुतमा सिफारिस भए । जुन नेपाल सरकारको मर्यादाक्रममा १२औं नम्बरमा पर्छ । जुन उनी नेतृतवमा रहेको मर्यादा क्रमको हालसम्मको तलको मर्यादाक्रम हो ।

अध्यक्ष ओलीका विश्वासपात्र हुनु नै खतिवडाका लागि एकपछि अर्को महत्वपूर्ण पद सुरक्षित हुने आधार भएको धेरैको बुझाइ छ । अहिले फेरि तिनै खतिवडा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार बनेका छन् । तर, उनले आफूलाई गभर्नर र अर्थमन्त्रीभन्दा माथिको महसुस गरेर मौद्रिक नीति नै रोक्ने प्रयास गरे । उनको त्यो प्रयास सफल पनि भयो । किनकि उनलाई प्रधानमन्त्री ओलीको बलियो साथ छ । अर्थमन्त्री पौडेलले पनि उनीसँग ‘डिफेन्स’ गर्ने ठाउँ छैन । गभर्नर अधिकारीले आगामी आफ्नो राजनीतिक भविष्य नबिर्गानका लागि चुपचाप भनेको मान्नु पर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैले पनि अब गभर्नर अधिकारी र अर्थमन्त्री पौडेलले स्वविवेकले काम गर्न पाउने छैनन् । ओलीका विश्वासिला पात्र डा. खतिवडाको ‘एसम्यान’ मात्रै होइन कठपुतली बन्नुपर्ने निश्चित छ ।

सम्बन्धित सामग्री : बिहीबार युवराजको घर पुगेका थिए गभर्नर, के ‘कसिलो’ मौद्रिक नीति ल्याउँदै थिए ?

कता हराए पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ?

अर्थमन्त्री डा. युवराज खतिवडा यस कारण रुचाइएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.