‘त्यो मौद्रिक नीति’ : झस्काइरहन्छ गभर्नरलाई

  २०८१ साउन ८ गते १६:१७     विकासन्युज

काठमाडौं । २०७७ साल साउन २ गते शुक्रबार । नेपाल राष्ट्र बैंक गभर्नरको सचिवालयले बिहानै सञ्चालक समिति बैठक डाक्यो । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति अध्यक्ष गभर्नर महाप्रसाद अधिकारीसहित अन्य सञ्चालकहरू शिरिरकुमार ढुङ्गाना (तत्कालीन अर्थसचिव), तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, श्रीराम पौड्याल, रामजी रेग्मी र सुबोधकुमार कर्ण समयमै बैठकमा उपस्थित भए ।

गभर्नर अधिकारीले बैठकको सुभारम्भ गरे । करिब दुई घण्टा बैठक बस्यो । दुई घण्टाको अवधिमा मौद्रिक नीतिका विभिन्न व्यवस्थाको विषयमा घनीभूत छलफल भयो । सञ्चालकहरूले गभर्नर अधिकारीसँग नयाँ मौद्रिक नीतिमा राखेका व्यवस्थाको तार्कित कारण  खाेजे । गभर्नरले त्यसको ‘वेल रेस्पोन्स’ गरे । नयाँ व्यवस्थाको कारण र त्यसले पार्ने भावी प्रभावको विषयमा गभर्नरले अन्य सञ्चालकहरूलाई प्रष्ट्याए । दुई घण्टा बढी चलेको बैठक सकियो ।

सो बैठकले मौद्रिक नीतिको मस्यौदालाई अनुमोदन गर्‍यो । अर्थात् आर्थिक वर्ष २०७७/७८ काे मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समिति बैठकबाट पारित भयो । मौद्रिक नीति पारित भएपछि गभर्नर तथा सञ्चालक समिति अध्यक्ष अधिकारीले बैठक सकिएको घोषणा गरे ।

मौद्रिक नीति पारित भएपछि गभर्नरकै सक्रियतामा सञ्चालकहरूलाई राष्ट्र बैंकमै दिवाभोजको आयोजना गरियो । गभर्नर अधिकारीसहित ६ जना सञ्चालकले राष्ट्र बैंकमै बसेर खाना खाए । तर, एक जना सञ्चालक अत्यावश्यक काम परेको भन्दै घरतर्फ लागे । ६ जना सञ्चालक राष्ट्र बैंकमै खाना खाइरहेका थिए । एक जना घर लागेकाे आधा घण्टा नबित्दै सञ्चार माध्यममा ‘ब्रेकिङ’ भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् ल्याउने नीति तथा कार्यक्रम र नयाँ व्यवस्थाको विषयमा एकपछि अर्को समाचार आउन थाले ।

सञ्चार माध्यममा आएका सबै समाचारहरू ‘सत्य’ थिए । अर्थात् केही समयअघि राष्ट्र बैंकको सञ्चालक समितिले जुनजुन विषय मौद्रिक नीतिमा राखेको थियो, तिनै विषयहरू समाचारमा आए । नीतिगतदरू जस्ताको त्यस्तै समाचारमा आए ।

त्यो दिन स्मरण गर्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजसँग भने, ‘६ जना सञ्चालक राष्ट्र बैंकमै खाना खाइरहनु भएको थियो, त्यतिबेलै विभिन्न सञ्चारमाध्यमा मौद्रिक नीतिमा गरेको व्यवस्थाबारे समाचार आउन थाले, कतिपय सञ्चारकर्मीले मौद्रिक नीति सार्वजनिक भइसकेको हो र ? भनेर प्रश्न गरिरहनु भएको थियो, समाचारमा आएका विषयवस्तुहरू मौद्रिक नीतिको हुबहु थिए, त्यसले गभर्नरज्यूलाई निकै तनाब पनि भयो ।’

राष्ट्र बैंकमा खाना खाइरहेका गभर्नरसहित अन्य सञ्चालक बाहेकलाई मौद्रिक नीतिमा उल्लेख भएका नीतिको विषयमा जानकारी थिएन । ६ जना सञ्चालक सँगै थिए, मौद्रिक नीति कसले चुहायो ? सञ्चालकहरूबीच नै मतभेद सुरु हुन थाल्यो । खाना खाइरहेका ६ जना सञ्चालकबीच व्यापक छलफलपछि घर गएका ती सञ्चालकले मौद्रिक नीति चुहाएको अनुमान गरे ।

सञ्चार माध्यममा छताछुल्ल भएको मौद्रिक नीतिका विषयमा गभर्नर चिन्तित बने । उनले लगत्तै फेरि सञ्चालक समितिको बैठक राखे । त्यो बैठकबारे घर हिँडेका सञ्चालकलाई जानकारी नै गराइएन । केही समय अगाडि मौद्रिक नीतिमा पारित भएका विषयहरूलाई परिमार्जन गरेर नयाँ नीतिगत व्यवस्था गरियो । नीतिगत दरहरू पुनः परिवर्तन गरियो ।

‘मौद्रिक नीतिमा आउनु पर्ने विषयहरू अगाडि नै सञ्चारमाध्यममा आइसकेका थिए, पछि गभर्नरज्यूले घोषणा गर्नु औपचारिकजस्तो मात्रै हुन्थ्यो, मौद्रिक नीति चुहिनु राष्ट्र बैंकका लागि पनि राम्रो होइन, त्यसैले पनि बजारमा पृथक सन्देश प्रवाह गर्न पुनः बैठक बसेर मौद्रिक नीति परिमार्जन गरियो, केही समय अगाडि गरेका नीतिगत व्यवस्थालाई हटाएर वा परिमार्जन गर्ने निर्णय दोस्रो बैठकले गर्‍यो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

त्यसपछि गभर्नर अधिकारीले भर्चुअल पत्रकार सम्मेलन राखेर मौद्रिक नीति बाचन गरे । मौद्रिक नीतिमा सञ्चार माध्यममा आएका विषयहरू आएनन् । समाचार ब्रेकिङ गर्ने सञ्चार माध्यमहरू गलत ब्रेकिङ भएको भन्दै स्रोतलाई सराप्न थाले । ब्रेकिङका लागि समाचार दिने सञ्चालक अचम्ममा परे, आफूले निर्णय गरेकाे एउटा र मौद्रिक नीतिमा अर्कै विषय आएको भनेर उनी आश्चर्यमा परे ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीसहित अन्य सञ्चालकहरू पनि ती सञ्चालकसँग रिसाएका थिए । गभर्नर अधिकारीले ती सञ्चालकलले राष्ट्र बैंकको काम कारबाहीमा बेइमानी तथा बदनियत गरेको भन्दै कारबाही गर्ने तयारी पनि नगनरेका होइनन् । तर, ती सञ्चालकको कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहेकोले गभर्नर सो निर्णयबाट पछि हटेको बुझिएको छ ।

अहिले पनि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएपनि अन्तिम आवरमा आएर रोकियाे । अब राष्ट्र बैंकले आगामी शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, गभर्नर अधिकारी भने अझै पनि २०७७ साउन २ गते दोहोरिन्छ कि भन्ने चिन्तामा छन् । आफ्नो टिमबाट मौद्रिक नीति चुहिन्छ कि भन्ने त्रासमा उनी छन् । उनले राष्ट्र बैंकका सञ्चालक र कर्मचारीहरूलाई पनि विगतमा भएकोजस्ताे गलत अभ्यास नगर्न आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.