नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी

  २०८१ साउन ९ गते ७:५६     विकासन्युज

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीको आन्दोलनले उग्ररूप लिएको छ । लघुवित्तको सञ्चालक समिति र उच्च व्यवस्थापकले कर्मचारीहरूको आन्दोलनलाई बेवास्ता गर्दा थप उग्ररूप लिएको हो ।

कर्मचारीहरूले शाखा कार्यालय बन्द गरेर सुरूवात गरेको आन्दोनल यतिबेला केन्द्रीय कार्यालय बनेपा काभ्रे पुगेको छ । मिर्मिरे लघुवित्त कर्मचारी संगठनको ऐक्यबद्धतासहित कर्मचारीहरूले नेरूडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा बुधबार बिहानै तालाबन्दी गरेका हुन् । साथै देशभरिका शाखा कार्यालयमा पनि तालाबन्दी यथावत राखेका छन् ।

फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेको आज साउन ९ गते तेस्रो दिन हो । उनीहरूको आन्दोलनमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनले समेत ऐक्यबद्धता जनाएको छ । संगठनका अध्यक्ष रोशन बुढाथोकीले कर्मचारीहरूको मागलाई बेवास्ता गरेको भन्दै अबको आन्दोलनको अग्रपंक्तीमा कर्मचारी संगठन रहेको बताएका छन् । केन्द्र व्यवस्थापक पदमा कार्यरत कर्मचारीहरूले साउन ६ गते केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको थियो । केन्द्रीय कार्यालयले उक्त पत्रको सुनुवाई नगरेपछि साउन ७ गतेदेखि देशभरिका कार्यालयहरू बन्द राखेका छन् ।

मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ ।

साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

आन्दोलित कर्मचारीहरूले लघुवित्तका सञ्चालक समिति अध्यक्ष सन्तोष फुयालको राजीनामा समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.