सौर्य एयरको बीमा प्रभुमा, ३० करोडसम्म दाबी आउन सक्ने, विदेशबाट आउँदै सर्भेयर

  २०८१ साउन ९ गते १४:१७     विकासन्युज

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यका अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ ।

विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ भन्ने विषय यकिन हुन बाँकी छ । तर, प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्ने सीईओ बज्राचार्यको भनाइ छ । यस बीमा पोलिसीको विदेशी कम्पनीमा पुनर्बीमा गरिएको हुँदा प्रभु इन्स्योरेन्सलाई धेरै भुक्तानी दायित्व नपर्ने उनले बताए ।

‘ठ्याक्कै तथ्याङ्क अहिले नै भन्न सकिँदैन, किनभने दुर्घटनामा भएको क्षतिको सबै विवरण आउन बाँकी छ । तर, करिब ३० करोड रुपैयाँसम्म दाबी गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘यो सबै भुक्तानीको दायित्व प्रभु इन्स्योरेन्सलाई भार पर्दैन, प्रभुको भुक्तानी दायित्व ०.३ प्रतिशत मात्रै पर्न सक्छ ।’

विमानको दुर्घटनाको जानकारी पाएका र दाबी भुक्तानीका लागि कम्पनीले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले बताए । सातै विमान दुर्घटनामा भएको क्षतिको विवरण संकलनका लागि विदेशबाट सर्भेयर बोलाउने उनको भनाइ छ । जहाज दुर्घटना र यात्रुहरूको बीमा कभर सोही बीमा पोलिसीमा हुने उनले बताए ।

‘मृतक व्यक्तिले कति रकम पाउँछन् भनेर सबै विवरण कम्पनीले बीमा पोलिसी चेकजाँच गरिरहेको छ, कम्पनीले बीमा गरेवापत तीन/चार करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गर्छ, यसमा अन्य तीन/चार वटा विमानको पनि बीमा गरिएको हुन्छ,’ उनले भने ।

बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.