नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न आयोगको ध्यानाकर्षण

  २०८१ साउन ९ गते १६:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न ध्यानाकर्षण गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारी लगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रूपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको बताउँदै सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।

आयोगले व्यक्ति किटेर नभने पनि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाइको मुखमा उक्त विज्ञप्ति जारी गरेको छ । प्रधानविरुद्ध एक महिलालाई जागिरको प्रलोभनमा पारी यौन शोषणको आरोपमा उजुरी छ। प्रधानको बुधबारै संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ ।

राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवाद रहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

आयोगले सर्वोच्च अदालतले समेत पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्ने नजीर कायम गरेको विज्ञप्तिमा जनाएको छ ।

‘सामाजिक र कानुनी रूपमा विवादित व्यक्तिहरूलाई नियुक्त गर्ने कार्य कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आम नागरिकको भरोसा समेत टुट्न जान्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.