गैरजिम्मेवार बन्दै नेप्से, गलत सूचनामा फस्दै लगानीकर्ता

  २०८१ साउन १० गते ११:४३     सीआर भण्डारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेवसाइटमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था ‘यूएनएलबी’ खोजेर तल दिएको लाभांश अप्सनमा थिच्दा आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत नगद र १९ प्रतिशत बोनस सेयर वितरण गरेको स्पष्ट देखिन्छ । भित्र क्लिक गरेर पत्र हेर्दा प्रस्तावित लाभांश भनिएको छ ।

यस्तै, धौलागिरी लघुवित्तलाई पनि नेप्सेमा युनिक नेपालजस्तै गरी खोजि गरेर हेर्दा लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ०.७५ प्रतिशत नगद र १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ ।

साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ । दुइटै लघुवित्तले पठाएको पत्रमा राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बताइएको छ ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने कम्पनीले बताएको छ ।

झट्ट हेर्दा यी कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण गरेको देखिन्छ । तर, केही कम्पनीको लाभांश रद्द भएको छ भने केही कम्पनीको लाभांश संशोधन भएर थपघट भइसकेकाे छ ।

यी माथिका केही उदाहरण मात्रै हुन्, नेप्सेको वेवसाइटमा एक-एक गरेर केलाएर हेर्ने हो भने यस्ता दर्जनौं त्रुटी देखिन्छन् । संशोधन गरिएको लाभांश र प्रस्तावित लाभांश वितरण नगर्ने भनिएका पत्रलाई सम्बन्धित सूचीकृत कम्पनीहरूले नेप्सेको वेवसाइटमा स्पष्ट राखेका छैनन् ।

पुँजी बजारमा लगानीकर्ताहरूका लागि सूचनाको पहिलो स्रोत भनेको नेप्से हो । लगानीकर्ताहरू लगानी गर्नुभन्दा पहिला नेप्सेको वेवसाइटमा सूचीकृत कम्पनीको विवरण हेर्छन् । सूचीकृत कम्पनीहरूले नेप्सेमा पठाएको सूचना वा तथ्याङ्क नै आधिकारिक हो । तर, सूचीकृत कम्पनीहरूले प्रयाप्त तथ्याङ्क नेप्सेको वेवसाइटमा नराख्दा, राखेको भएपनि त्यसलाई अध्यावधिक नगर्दा र सूची सूचना तथा तथ्यांक अध्यावधिक नगर्दा लगानीकर्ताहरू मारमा पर्ने गरेका छन् ।

नेप्सेले कम्पनीहको गलत तथ्याङ्क नहटाउँदा र समयमा सही सूचना वा तथ्याङ्क अपडेट गराउन निर्देशन नदिँदा दोस्रो बजारमा कारोबार गर्ने लाखौं लगानीकर्ताहरू जोखिममा छन् । किनभने माथि उल्लेखित कम्पनीहरूको नेप्सेमा उपलब्ध तथ्याङ्क अध्ययन र विश्लेषण गरेर लगानी गर्दा लगानीकर्ता स्वतः फस्छन् ।

माथि उल्लेखित कम्पनीहरूमध्ये युनिक नेपाल लघुवित्तको लाभांश हालसम्म गायव छ । लघुवित्तको वि.सं २०८० भदौ ३० गते बसेको सञ्चालक समितिले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

‘विभिन्न कारणहरूले स्थापना कालदेखि पछिल्लाे पाँच वर्षसम्म सेयरधनीहरूलाई लाभांस वितरण नगरेको हुँदा आर्थिक वर्ष २०७९/८० सम्मको लाभांश वितरण गर्न मिल्ने कोष र राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष सेयर बोनस र कर प्रयोजनको नगद लाभांशसहितको २० प्रतिशतसम्म बाँड्नको लागि प्रस्ताव गरिएको छ,’ लघुवित्तले बकैदा लाभांश प्रस्तावना पत्रमा भनेको थियो ।

तर, लाभांश प्रस्ताव गरेको ३ महिनापछि लगानीकर्ताहरूलाई कुनै जानकारी नदिई वि.सं २०८० पुस १ गते लाभांशको एजेण्डा बिना नै वार्षिक साधारणसभा आह्वान गर्याे । र, पुस २४ गते साधारण सभा सम्पन्न भइसकेको छ । तर, हालसम्म लघुवित्तका सेयरधनीहरूलाई के कति कारणले प्रस्तावित लाभांश रोकिएको भन्ने जानकारी समेत गराएको छैन ।

माथि उल्लेखित संस्था धौलागिरी लघुवित्तले प्रस्ताव गरेको २ महिनापछि लाभांश वितरण नगर्ने जानकारी गरायो । ‘गत वर्षको सञ्चित नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव सहितको प्रारम्भिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पठाएका थियौं, धौलागिरी लघुवित्तको संचालक समितिको वि.सं. २०८० पुस २५ गते बसेको बैठकबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ,’ पत्रमा भनिएको छ । तर, हालसम्म लघुवित्तको लाभांश विवरणमा सो पत्र राखिएको छैन ।

यस्तै, साना किसान लघुवित्तले राष्ट्रले बैंकको निर्देशनपछि प्रस्तावित लाभांश संशोधन गरेको थियो । लघुवित्तको संशोधित लाभांश १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद हो । तर, नेप्सेले लाभांश संशोधन गरेको पत्र नेप्सेमा लघुवित्तको लाभांश विवरणमा राखेको छैन ।

बम्पर लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश नेपाल बीमा प्राधिकरणले रोकिदियो । प्रक्रिया नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् । तर, कम्पनीको लाभांश विवरणमा भने सो पत्र राखिएको छैन ।

पुँजी बजारको हटकेक हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै छ । नेप्सेमा विवरण अध्ययन गर्दा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । उक्त सबै सेयर संस्थापक समूहको स्वामित्वमा रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । साथै अन्य माध्यमबाट कम्पनीको विश्लेषण गर्दा सबैभन्दा धेरै लाभांश दिने कम्पनी पनि युनिलिभर नै हो । तर, नेप्सेको लाभांश अप्सनमा हेर्दा केही पनि देखाउँदैन ।

एक वर्षभन्दा बढीको तथ्यांक पाइँदैन 

तपाईंलाई थाहा छ, नेप्सेमा सूचीकृत कम्पनीहरूको एक वर्ष बढी अवधिको मूल्य सूची देखाउँदैन । जस्तो तपाईंले युनिलिभर नेपालको मूल्य इतिहास हेर्न चाहनुहुन्छ भने एक वर्षभन्दा बढी अवधिको भेटिदैँन ।

जस्तो यस कम्पनीको सेयर मूल्य हेर्नुभयो भने सन् २०२३ जुलाई २५ तारिखसम्मको मात्रै हेर्न मिल्छ । यदि तपाईंले भोलिको दिन पुनः सोही कम्पनीको मूल्य इतिहास हेर्नु भयो भने जुलाई २४ तारिखसम्मको इतिहास मात्रै देखाउँछ ।

तर, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य यतिहास, चुक्ता पुँजी, लाभांश इतिहास लगायत विषयमा अध्ययन गर्न लगानीकर्ताले नेप्सेभन्दा व्यक्तिगत रुपमा खोलिएका तथा निजी क्षेत्रबाट खोलिएका वेवसाइटहरु हेर्नु पर्ने बाध्यता छ । त्यसले लगानीकर्तालाई लगानीको जोखिम हुन सक्छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने एक वर्षभन्दा बढीको सूचना राख्न नमिल्ने बताउँछन् । उनी एक वर्षभन्दा बढीको सूचना तथा तथ्यांक चाहिएमा खरिद गर्नु पर्ने नीति रहेको सुनाए ।

गुमराहमा राख्दै लगानीकर्ता

दोस्रो बजारमा लगानी गर्ने जोसुकै लगानीकर्ताले पनि पहिलो नजर नेप्सेमा कम्पनीले पठाएको विवरण नै हेर्ने हो । तर, नेप्सेमो वेवसाइटमा सूचीकृत कम्पनीहरूको गलत तथ्याङ्कले लाखाैं लगानीकर्ताहरूलाई झुक्याउँछ । किनभने माथि उल्लेख गरिएका जस्ता अन्य कम्पनीले पनि राम्रो लाभांश दिएको देखाउँछ ।

यसरी नेप्सेले समयमा आफ्नो आधिकारिक साइटमा सूचीकृत कम्पनीहरूको सही तथ्याङ्क नराख्दा वा अपडेट नगरिदिँदा नेप्सेको तथ्यांकलाई आधिकारिक मानेर लगानी गर्ने लाखौं लगानीकर्ताहरूको लगानी डुब्ने खतरा प्रबल रहेको लगानीकर्ता बताउँछन् । तथ्यांक प्रयोग सम्बन्धि कार्यविधिले यस्ताे व्यवस्था गरेकाे उनकाे भनाइ छ ।

तर, ग्याप रहेको तथ्याङ्क अपडेट गर्ने काम स्वयम् कम्पनीको रहेको नेप्सेको जिकिर छ । ग्याप रहेका तथ्याङ्क अपडेट गराउन नेप्सेले सूचीकृत कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । तर, नेप्सेले सही तथ्याङ्क अपडेट गराउन कम्पनीलाई निर्देशन दिन नसकेको उनले स्वीकार गरे । पराजुलीका अनुसार सूचीकृत कम्पनीहरूको तथ्याङ्क अपडेट गराउन नेप्सेले मनिटरिङ गर्न नसकेको हाे ।

‘सबै कम्पनीहरूको तथ्याङ्क पूर्ण रुपमा अपडेट छैन, ग्याप भएको तथ्याङ्क अपडेट गराउनुहोस् भनेर नेप्सेले कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको छ,’ उनले भने, ‘तर, कम्पनीहरुले नगराएका हुन्, अब अपडेट गराउन फलोअप गर्छौं, दुई/चार दिनमा सूचना जारी गर्छाैं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.