ज्योति विकास बैंकद्वारा ज्योति गट ट्यालेन्टको प्रथम संस्करण आयोजना

  २०८१ साउन ११ गते १५:५६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ज्योति गट ट्यालेन्टको पहिलो संस्करण आयोजना गरेको छ ।  बैंकका देशभरीका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

‘ज्योति गट ट्यालेन्ट २०२४’ मा कर्मचारीहरुको लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता’ गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविता’ गरि सात विधाहरु समावेश गरिएको थियो, जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो ।

उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू गत साउन ९ गते बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो । विजेताहरुलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए ।

यस कार्यक्रममार्फत, बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले बहुप्रतिभाले सुसज्जित कर्मचारी र उनीहरूको वालवालिकाको प्रतिभाको प्रस्फुटन हुने उचित अवसर प्रदान गरेको छ । बैंकिङ सिपका अलावा, बैंकका कर्मचारी वर्गमा रहेका अन्य विशिष्ट सिपलाई उजागर गर्ने र प्रोत्साहन गर्ने अवसरको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.