चितवनमा फैलिँदै डेंगु, ५१ जनामा देखियो संक्रमण

  २०८१ साउन १२ गते १०:३४     विकासन्युज

चितवन । चितवनमा ६४ जनामा डेंगको संक्रमण देखिएको छ । ३ सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेंग संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगको संक्रमण देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंग देखिएको छ । उनले भने, ‘डेंगको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म १ हजार ८ सय ३१ जनामा डेंगको संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो ।

विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेंगको संक्रमण देखिन थालेको छ ।’

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् ।

यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेंगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

डेंग ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंग पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए ।

त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगको संक्रमण देखिएको उनले बताए ।

योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा ३ हजार २ सय ९८ जनाको परीक्षणका क्रममा ७ सय ३९ जनामा डेंग संक्रमण देखिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ हजार २ सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंग पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै आव २०७५/७६ मा १ हजार ९ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंग भेटिएको थियो । आव २०७६/७७ मा १९ हजार २ सय ३० जनाको परीक्षणका क्रममा ४ हजार ८ सय तीन जनामा संक्रमण देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो ।

आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा २ सय ४३ जनामा डेंग रोग देखिएको कार्यालयले जनाएको छ ।

आव २०७८/७९ मा १४ हजार ९ सय ७८ जनाको परीक्षण गरिएकामा ३ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेंगका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए ।

आव २०७९/८० मा ५ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगको संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.