२०८१ साउन १२ गते ११:४४ विकासन्युज
काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक भत्काएर फुटपाथ बिस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ ।
फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ ।
फुटपाथ बिस्तारका क्रममा काठमाडौं महानगरपालिको मुल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरूमा परेको छ । जसकारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् ।
अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरू मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरूको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ ।
पार्किङ गरिएका सवारीसाधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरू मासिने निश्चित छ ।
त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । महानगरले फुटपाथ बिस्तार गरेसँगै स्थानीयहरुले बिरोध गरेका थिए । सबै वडाका अध्यक्षहरूले फुटपाथ बिस्तारविरुद्ध विरोध जनाएका थिए भने स्थानीयहरूले पनि अध्यक्षहरूलाई साथ दिएका थिए ।
यता महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ बिस्तारको काम सुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो ।
महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चिनकाजी श्रेष्ठबीच केही समय फुटपाथ बिस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ । तर, अव्यवस्थित पार्किङको समस्या बढेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.