दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

  २०८१ साउन १२ गते १२:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो ।

बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्य प्रति प्रतिबद्धताका लागि वाकनाथमार्फत ऐक्यबद्धता जनाएको छ ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे ।

‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरू दिगो बैंकिङमार्फत यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ,’ उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए ।

‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापी रूपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

सो अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ( ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुख लगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो ।

शनिबार बिहान ७ः३५ बजे दरबार मार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुङ्गिएको थियो ।

बैंकका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.