गभर्नरबाट अस्थिरताको बीजारोपण

  २०८१ साउन १३ गते ११:२०     सन्तोष रोकाया

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिबाट सुरुमा जुन किसिमको वाहीवाही पाए । त्यो तारिफ र प्रशंसा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट पनि पाए । मौद्रिक नीतिका औजारहरू अन्धाधुन्ध चलाएर गभर्नर अधिकारी क्षणिक तारिफमा रमाउने व्यक्ति हुने भन्ने थप पुष्टि उनले यस पटकको मौद्रिक नीतिमार्फत् पनि गरेका छन् । उसो त उनको पहिलो अर्थात् २०७७/७८ को मौद्रिक नीतिमा आलोचना गर्ने व्यक्ति बजारमा भेटिएनन् । मौद्रिक नीति सुनेर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार, उद्योगी व्यवसायी र बैंकर पनि मक्ख बने । तर, त्यसको दीर्घकालीन प्रभाव के पर्यो ? तात्कालीक रूपमा अघि सारेका ती नीतिहरू अहिलेसम्म रहे वा रहेनन् ? पहिलो मौद्रिक नीतिमार्फत् अघि सारेका नीतिहरूले बजारलाई कुन मोडमा पुर्‍यायो ? यो विषयमा सबै जानकार छन् ।

पहिलो मौद्रिक नीतिजस्तै गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीतिमा पनि आलोचना गर्ने बजारमा सायदै छन् । सरकार, उद्योगी, व्यवसायी, बैंकर र सेयर लगानीकर्ताले पनि मौद्रिक नीतिलाई सन्तोषजनक मानेका छन् । तर, जुन किसिमको नीतिको माग बजारले गरिरहेको छ, त्यसको पक्षमा मौद्रिक नीति भने छैन । मौद्रिक नीति केवल पपुलिष्ट बन्ने बाटोतर्फ उत्प्रेरित छ । गभर्नर अधिकारीलाई दीर्घकालीन रूपमा प्रश्न उठाउने र उनको क्षमतामाथि आँच पुर्‍याउने किसिमको मौद्रिक नीति सार्वजनिक भएको छ ।

गभर्नर अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् अनावश्यक रूपमा पुनर्कर्जा र कर्जा पुनर्संरचनाको सुविधा दिँदा अहिले बजारमा मन्दी सिर्जना भएको भन्नेहरूको कमी छैन । सोही कारणले नै घरजग्गा र सेयर बजारको यो हालत भएको भन्नेहरू बजारमा भेटिन्छन् । त्यो मौद्रिक नीतिले सेयर बजारमा उछाल ल्यायो । बैंकिङ क्षेत्रमा तरलता थुप्रियो । परिणामस्वरूप बैंकहरूले मुद्दति निक्षेपका चार गुणा रकम फिर्ता पाइनेसम्मका प्याकेजहरू ल्याए ।

सेयर बजारको अनावश्यक उछाल देखेर गभर्नर अधिकारी आफ्नो दोस्रो मौद्रिक नीतिमा केही कडा देखिए । दोस्रो मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयरधितो कर्जामा ४/१२ करोडको सीमा तोके । बैंकिङ क्षेत्रका लागि केही संकुचित नीतिहरू अगाडि सारे । सेयरधितो कर्जामा सीमा तोकेपछि त्यसको चौतर्फी आलोचना भयो । अर्थमन्त्रालयबाट पनि सो सीमा हटाउन पटक-पटक दबाब दिइयो । सेयर लगानीकर्ताको चर्को आलोचना र अर्थमन्त्रालयको निरन्तर दबाबपछि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत राखे । फेरि उनले सो सीमा पनि हटाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमा तोके । सो नीतिमा उनको आलोचना भइरह्यो । अन्ततः उनी सो सीमाबाट पछि हटेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा संस्थागततर्फको २० करोडको सीमा हटेको छ ।

यो अवधिमा लाखौं लगानीकर्ताको ठूलो रकम सेयर बजारमा डुबेको छ । सरकारले पनि अर्बौं रकम कर गुमाएको छ । यो नीतिबाट गभर्नर कति आलोचित बने ? कति मान्छेकाे ‘तारो’ बने ? त्यो स्वयम् उनैसँग हिसाबकिताब छ । तर, अन्ततः त्यो नीति गलत थियो वा राजनीतिक हस्तक्षेपले उनी पछि हट्नुपर्यो ? त्यो पनि स्वयम् उनैलाई थाहा छ । तर, सेयरधितो कर्जामा गभर्नर अधिकारी आफूमात्रै चुकेका छैनन्, राष्ट्र बैंककै इतिहासमा अस्थिर नीतिको बीजारोपण गरेका छन् ।

चालु पुँजी कर्जा मार्गदर्शनमा पनि गभर्नर अधिकारीले ठूलो असफलता प्रदर्शन गरे । सुरुमा जस्ताको त्यस्तै लागु गरेरै छाड्ने प्रण गरेका अधिकारीले विस्तारै त्यसलाई थप शंसोधन गर्दै पछाडि सारिरहेका छन् । २०७९ मा चालु पुँजी कर्जा सम्बन्धि नीति कार्यान्वयनमा आएपछि उद्योगी व्यवसायीले ठूलो विरोध गरे । सडकमा आन्दोलन गरे । उत्पादनमुलक बाहेकका व्यवसायमा १ देखि २ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जामा वार्षिक कारोबारको २५ प्रतिशत नबढ्नु पर्ने व्यवस्था थियो । उत्पादनमुलक उद्योगका लागि ४ करोड ऋण लिन सक्ने व्यवस्था थियो । सुरुमा कडा बनेका अधिकारी अहिले विस्तारै नरम बनिरहेका छन् ।

उनले यो नीतिलाई थप संशोधन गर्ने घोषणा गरेका छन् । अब राष्ट्र बैंकले सीमा बढाउने तयारी गरिरहेको छ । यसमा पनि गभर्नर अधिकारी चुकेका छन् । यो बिचमा धेरै उद्योगी व्यवसायीले आत्महत्या गरे । धेरै पलायन भए । सयौं व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपर्यो । तर, अधिकारीले अन्ततः आफ्नै नीतिबाट पछि हट्नु पर्ने वातावरण सिर्जना भयो । यो उनको स्वविवेकले हो वा राजनीतिक दबाब वा प्रभाव ? त्यो पनि स्वयम् गभर्नर अधिकारीलाई थाहा छ । तर, उनले आफ्नो अडान कायम गर्न सकेनन् । नीति सही थियो भने पटक-पटक संशोधन गरेर नीति तुहाउने तथा कमजोर बनाउने  काम गर्नु हुँदैनथ्यो । तर, त्यो कच्चापन उनले देखाए । चालु पुँजी कर्जा नीति लागु गराउँदा र उद्योगी व्यवसायीबाट विरोध हुँदा गभर्नर अधिकारीले बैंकर व्यवसायीले चालु पुँजी कर्जा नै नबुझेको आरोप लगाउँथे । राम्रोसँग अध्ययन गरेर मात्रै विरोध गर्न आग्रह गर्थे । तर, अहिले गभर्नर अधिकारी नै त्यो नीतिलाई पटक–पटक संशोधन गरेर आफ्नो असक्षमता छताछुल्ल पारेका छन् ।

गभर्नर अधिकारीले कर्जा नोक्सानी व्यवस्थालाई पनि निरन्तर चलाउँदै आएका छन् । गत वैशाखमा कर्जा नोक्सानी व्यवस्थालाई १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत कायम गरे । अहिले कायम १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई फेरि घटाएर १.१० प्रतिशत हुने व्यवस्था गरेका छन् । विगतमा बजार असहज अवस्थामा हुँदा यो व्यवस्था नगरेका गभर्नर अधिकारीले अहिले बजारमा पैसा थुप्रिरहेका बेला, खराब कर्जा बढिरहेको बेला नै १.१० प्रतिशत कायम गरिदिए । यसले सिर्जना गर्ने प्रभाव हेर्नै बाँकी छ । गभर्नर अधिकारीले सरकारसँगको निकटताको आधारमा मौद्रिक नीति निर्माण गर्दा त्यसको प्रत्यक्ष असर बजारलाई मात्रै परिरहेको छैन, स्वायक्त निकाय नेपाल राष्ट्र बैंकको शाखमा पनि प्रश्न उठिरहेको छ । उनी एउटा राजनीतिक पार्टीको गोटी बन्दा र सीमित व्यक्तिको खल्तीको मान्छे बनिदिँदा त्यसको प्रत्यक्ष भार अर्थतन्त्रले बोक्नु परेको धारणा वित्तीय बजारले राख्ने गरेको छ ।

नियामकको नीति पारदर्शी र परिवर्तित हुनुपर्छ, त्यसमा दुई मत छैन । तर, केही महिना वा एक वर्षअघि मात्रै ल्याएको नीति परिवर्तन गर्ने वा खारेज नै गर्नेसम्मको कच्चापन नियामकले देखाउनु हुँदैन । सरकारले नयाँ कानुन तथा नीतिहरुको कार्यान्वयन गरेमा, बजार वा अर्थतन्त्रले फरक बाटो समातेमा, प्रविधिको विकासले थप विस्तार लिएमा, बजारको प्रतिस्पर्धालाई प्रोत्साहन गर्न वा एकाधिकार रोक्न नियामकले नीति परिमाजर्न गरिरहनुपर्छ । नियामकको काम नै त्यही हो । तर, जुन किसिमले गभर्नर अधिकारीले वर्षैपिच्छे नीतिमा परिवर्तन गरिरहेका छन् वा अघिल्लो वर्ष ल्याएको नीति गत वर्ष खारेज गरिदने र गत वर्ष ल्याएको नीति यस वर्ष हटाइ दिने नीतिले नियामकको भूमिका, जिम्मेवारी, पारदर्शितार जवाफदेहितामाथि प्रश्न उठ्छ । नेतृत्वको क्षमतामाथि प्रश्न उठ्छ ।

नीति परिमार्जन नै गरे पनि नेतृत्वले त्यसको यथेष्ठ जवाफ दिन सक्नुपर्छ । गभर्नर अधिकारीले आफ्नो मौद्रिक नीतिमार्फत् जुन किसिमको नीतिमा परिमार्जन र संशोधन गरिरहेका छन् । त्यसमा उनले पारदर्शिता र जवाफदेहिता देखाएका छैनन् । नियामकले नीतिगत निर्माणको प्रक्रिया र त्यसको कारण आम बजार समक्ष प्रष्ट पार्न सक्नुपर्छ । बजारलाई विश्वास दिलाउन सक्ने खुबी नेतृत्वमा हुनुपर्छ । जसरी गभर्नर अधिकारीले नीतिगत अस्थिरताको डण्डा चलाइरहेका छन्, नियामक नेपाल राष्ट्र बैंकसँगै उनले पनि जीवनभर अस्थिरताको मानकको ट्याग भिडिरहनुपर्ने छ । यसले राष्ट्र बैंकलाई हेर्न बजारको दृष्टिकोण र विश्वासमा पनि कमी आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.