दिगो ऊर्जा आपूर्तिका लागि नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्नेमा जोड

  २०८१ साउन १३ गते १४:१७     विकासन्युज

काठमाडौं । विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तन र यसको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्ष प्रविधि उपयुक्त भएको विज्ञहरू धारणा राखेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन)को सातौँ वार्षिक साधारण सभाका अवसरमा विज्ञहरूको सो राय आएको हो ।

नेपाल भूकम्पीय जोखिम उच्च भएको तथा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप अत्यधिक हुने देशमध्ये पर्ने भएकाले देशको ऊर्जा प्रणालीलाई दिगो र सुरक्षित बनाउनका लागि ऊर्जा मिश्रणको आवश्यकता देखिएको उल्लेख गर्दै मिश्रित ऊर्जामा नवीकरणीय ऊर्जाको हालको अनुपातलाई वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

दिगो ऊर्जा आपूर्तिका निम्ति राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्न ढिलाइ गर्न नहुने जनाइएको छ । लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भइसकेको र प्राविधिक रूपमा पनि सम्भव रहेकाले अब राज्य, दातृ निकाय र समुदायको ठुलो श्रम र वित्तीय लगानी भइसकेका लघु जलविद्युत्को स्तरोन्नति गरेर व्यावसायिक उत्पादन गर्नुपर्नेमा विज्ञहरूको जोड छ ।

राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्दा स्थानीय अर्थतन्त्र, दिगो ऊर्जा आपूर्ति र वातावरणीय संरक्षणलगायतका सन्दर्भमा सकारात्मक प्रभाव पर्ने भएकाले सहजीकरण गर्नुपर्नेमा विज्ञहरूको सुझाव छ । त्यस्तै नवीकरणीय ऊर्जाका स्रोत परिचालन गरी स्वदेशी प्रविधि र सीपबाट जलवायु परिवर्तनको असर कम गर्न, वन जङ्गल विनाश रोक्न, जैविक इन्धनको खपत कम गर्न सरकार र सम्बन्धित निकायले नवीकरणीय ऊर्जा प्रविधिको विकासका लागि नीति तथा कार्यक्रममा व्यापक सुधार गर्न आवश्यक छ रहेको पनि विज्ञहरूले बताए ।

रिकोनको सातौँ वार्षिक साधारणसभाका अवसरमा जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र नवीकरणीय ऊर्जाका स्रोतहरू परिचालन गरी जलवायु परिवर्तनको असर कम गर्न व्यापक रूपमा प्रविधि परिचालन गर्न विभिन्न नीति, कार्यनीति, कार्यक्रम र निजी क्षेत्रको लगानी, सहभागिता साथै सरकार र विकास साझेदारहरूका साथ सहकार्य गर्न आयोजित कार्यशाला पनि आयोजना गरिएको थियो ।

त्यस्तै उक्त अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र विकासका लागि उच्च योगदान दिने व्यक्तित्वलाई सम्मान गरियो । सम्मानितहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशकहरू श्यमलाल वैद्य, मदन बस्नेत, प्राडा गोविन्दराज पोखरेल, डा नारायण चौलागाई, डा रामप्रसाद धिताल, डा मधुसुदन अधिकारी रछन् । त्यस्तै पूर्वमन्त्री गणेश साह, विज्ञहरू प्राडा जगन्नाथ श्रेष्ठ, प्राडा रमेशकुमार मास्के, सुरेन्द्रभक्त माथेमा विश्व भूषण अमात्य, लैंगिक अभियन्ता तथा नवीकरणीय ऊर्जाविज्ञ डा. इन्दिरा शाक्य, व्यवसायीहरू, नवीन भुजेल, शेखर अर्याल र परिसंघका प्रमुख कार्यकारी अधिकृत पूर्ण रन्जितकार छन् ।

साधारण सभाले कुशल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा गुणराज ढकाल निवर्तमान अध्यक्ष, केशवराज खनाल उपाध्यक्ष, ऋषभराज आचार्य महासचिव, तेजनारायण ठाकुर सचिव र कृष्णप्रसाद पराजुली कोषाध्यक्ष निर्वाचित बनेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा गोकुल गौतम, एवबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने छन् ।

One comment on "दिगो ऊर्जा आपूर्तिका लागि नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्नेमा जोड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.