९५ प्रतिशत पर्यटकको नगदमै कारोबार, यी हुन राष्ट्र बैंकले देखाएका कारण

  २०८१ साउन १४ गते ९:०७     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण गर्ने अधिकांश विदेशी पर्यटकहरूले नगद कारोबार गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाइ तथा खर्चको प्रवृत्तिसम्बन्धी गरेको विशेष अध्ययन प्रतिवेदनमा साढे ९५ प्रतिशतले नगदका माध्यमबाट भुक्तानी गर्ने गरेका छन् ।

सर्वेक्षणमा संलग्न पर्यटकहरूमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले, कार्डको माध्यमबाट ४.९७ प्रतिशत पर्यटकले र मोबाइल वालेटको माध्यमबाट ०.१० प्रतिशत पर्यटकले विभिन्न खर्चका लागि भुक्तानी गर्ने गरेका छन् ।

बसाइ खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ८७.८० प्रतिशत पर्यटकले नगदका माध्यमबाट, ११.९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट र ०.३० प्रतिशत पर्यटकले मोबाइल वालेटका माध्यमबाट भुक्तानी गर्ने गरेका छन् ।

खानपिन खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९१.४४ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ८.२६ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

यातायात खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९६.६१ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ३.३९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको देखिएको छ । पर्यटकले गर्ने गरेका विभिन्न पर्यटकीय क्रियाकलापका लागि भुक्तानी गर्ने क्रममा ९८.१६ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र १.८४ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पर्यटकहरूले तिर्ने राजस्वमा पनि सबैभन्दा धेरै ९८.०२ प्रतिशत पर्यटकले नगदमार्फत भुक्तानी गर्ने गरेको पाइएको छ ।

विभिन्न खर्चको भुक्तानी गर्दा नगद नै बढी प्रयोग हुनुको कारणहरूमा कार्ड रिडिङ मेसिन सबै ठाउँमा सहजै उपलब्ध नहुनु, भएकाले पनि सबै कार्ड स्वीकार नगर्नु, कमिसन शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, ई-पेमेन्टको सेटलमेन्टमा ढिलाई हुनु, कार्डको माध्यमबाट भुत्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नुपर्ने लगायतका कारण रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

विश्वका ४१ देशबाट गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरू समावेश गरी राष्ट्र बैंकले अध्ययन गरेको थियो । सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलियाबाट पर्यटकहरू आउने गरेका छने । सबैभन्दा बढी युरोप महादेशबाट ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिका महादेशबाट ०.७५ प्रतिशत पर्यटकहरू आउने गरेका छन् । तर, अफ्रिका महादेशबाट गण्डकी प्रदेशमा पर्यटकहरू आएको पाइएन ।

सबैभन्दा बढी साहसिक क्रियाकलापमा संलग्न हुन ४०.१८ प्रतिशत र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरू व्यापारिक प्रयोजनका लागि आउने गरेको राष्ट्र बैंकले जनाएको छ ।

गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाइ अवधि २२ दिन रहेको अध्ययनले देखाएको छ । तर, गण्डकी प्रदेशमा औसत बसाइ अवधि भने १२ दिन रहेको पाइएको छ । उक्त सर्वेक्षणमा संलग्न पर्यटकहरूको नेपालको औसत बसाइको तुलनामा गण्डकी प्रदेशको औसत बसाइ ५४.५५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.