भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल, पत्थरीको शल्यक्रिया गर्न १४ महिनापछि पालो

  २०८१ साउन १४ गते १७:३३     विकासन्युज

चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल भएको छ । बिरामीको चापकै कारण अस्पतालको अर्थोपेडिक विभागमा सोमबार दुई सय ५० जनाले मात्रै बहिरङ सेवामा टिकट पाएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले सोमबार बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिए । हिजो टिकट काटेका एक सय जनाभन्दा धेरै बिरामी उपचार नलिई फर्किन परेकाले बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुने उनको भनाइ छ ।

स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सय जनाभन्दा धेरै बिरामी आउने बताउँदै डा। पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे ।

स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे ।

डा. पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि १४ महिनापछिको पालो दिनुपर्ने अवस्था छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.