कर्णालीबाट सवा ४ अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

  २०८१ साउन १४ गते १८:२४     विकासन्युज

कर्णाली । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोड रुपैयाँको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) २ अर्ब २६ करोड ६७ लाख ११ हजार रुपैयाँको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए ।

त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) १ अर्ब ८४ करोड ९० लाख ७० हजार रुपैयाँको निर्यात गरिएको उनले बताए ।

कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्यांकअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रुपैयाँ संकलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए ।

यसैगरी गत आवमा ६ बैंक तथा ८ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले ३ करोड ४० लाख २३ हजार रुपयाँ ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका ९ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए ।

कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए ।

कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, संकलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.